तपाईँ सुन्दै हुनुहुन्छः

यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेता पौडेलले संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरू मिलेर सरकार बनाइनु स्वभाविक भएको बताउनुभयो । उहाँले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने नभई संसद्भित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको टिप्पणी गर्नुभयो । 

यही फागुन २१ गते एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीचको सहमतिबाट सरकार पुनर्गठन भएको थियो । सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी भएको छ ।

नेता पौडेलले आफ्नो विगतको तीतो यात्रालाई समीक्षा गर्दै मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन आरम्भ गर्नुभएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुभकामना दिँदै यो यात्रा अविराम र अविचलित रुपमा अघि बढोस् भन्ने कामना गर्नुभयो । 

“प्रधानमन्त्री दाहालबाट विगतको गठबन्धनका समस्यालाई खुलस्त रुपमा राखेर सहज र संविधानसम्मत रुपमा विकल्प खोज्ने काम भएको छ । यसलाई सबै दलले सहज र स्वभाविक रुपमा लिनुपर्छ”, नेता पौडेलले भन्नुभयो, “अहिले प्रतिपक्षमा पुगेको नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहन्छ । यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्नेछ ।”

आर्थिकमन्दीका कारण जनताका निराशा र असन्तुष्टिलाई सम्बोधन गर्दै प्रतिपक्षका जायज मागलाई सुनेर सरकारले आशावाद सिर्जना गर्ने काम गर्ने उहाँको भनाइ छ ।

नेता पौडेलले विद्यमान संवैधानिक प्रबन्धअनुसार कुनै एक दलको बहुमत आउन कठिन अवस्था रहेको उल्लेख गर्दै जनताको विश्वास जित्दै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button