बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल सञ्चालन
बागलुङ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरी धामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ । रू सात करोड लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएको बागलुङ–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिनुभयो ।
“पुलबाट वारिपारि गर्न थालेको चार दिन भयो । निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन भने भएको छैन”, उहाँले भन्नुभयो, “पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ । यसअघि यहाँका नागरिक आउजाउ गर्न एक/डेढ घण्टा लाग्नेमा अब १० मिनेट लाग्नेछ ।”
दुई वर्षमा निर्माण सक्ने गरी विसं २०७९ जेठमा सम्झौता भई विसं २०७९ साउनदेखि निर्माण सुरु भएकामा डेढ वर्षमा काम सकिएको निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ । पुल हस्तान्तरणको तयारी भइरहेको कम्पनीका प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो । निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले गरेको थियो ।
बागलुङ बजारलाई पर्वतको जलजलासँग जोड्दा यहाँको व्यापार व्यवसाय बढ्ने छ घने जलजलाका स्थानीयलाई घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्था अन्त्य भएको छ ।
जलजलाबाट बागलुङ बजारको विद्यामन्दिरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिषेक जिसीले आफूलाई हिँडेर यहाँ अध्ययन गर्न आउँदा डेढ घण्टा लाग्ने गरेको बताउनुभयो । चार दिनदेखि पुलबाट आवतजावत गर्न थालेको भन्दै यसले समयको बचत भएको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्