तपाईँ सुन्दै हुनुहुन्छः

सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकताका लागि खेलकुद महत्वपूर्ण : पूर्व राष्ट्रपति भण्डारी

जनकपुरधाम । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउँदै मुलुकलाई समृद्ध बनाउनमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

प्रथम महिला राष्ट्रपति भण्डारीले मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आज देखि शुरु भएको प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । 

उहाँले प्रथम मदन भण्डारी महिला हक्की प्रतियोगिताले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नु भयो । 

पूर्व राष्ट्रपति भण्डारीले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भएपनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रदर्शनको उच्च प्रशंसा गर्दै खेलकुदको विकासमा राज्यले बढी लगानी गर्न जरुरी रहेको बताउनु भयो । 

उहाँले विद्वान, विदुषीहरूको भूमिका रुपमा रहेको जनकपुरधाममा यस्ता प्रकारको राष्ट्रिय प्रतियोगिताको आयोजनाले खेलकुदको भूमिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित हुने विश्वास व्यक्त गर्नु भयो । 

उहाँले खेलकुदमा रहेको अनुशासन तथा सम्यमता राजनीतिमा क्षेत्रमा प्रदर्शन हुन जरुरी रहेको बताउँदै स्वर्गीय मदन भण्डारीले स्वच्छ राजनीतिक प्रतिस्पर्धाले नेतृत्वको विकास हुनु पर्दछ भन्ने मान्यता अहिले पनि उपयोगी भएको र यो खेलमा पनि लागू हुने गरेको बताउनु भयो । 

पूर्व उपप्रधानमन्त्री, नेकपा एमालेका सचिव एवं धनुषा निर्वाचन क्षेत्र नंं ४ का प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठले नेपालमा खेलकुद क्षेत्रमा राज्यको लगानी कम भएपनि खेलाडीले खेल क्षेत्रमा गरेको प्रदर्शन सराहनीय भएको बताउनु भयो । 

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा हक्की संघ नेपालका अध्यक्ष अनिल प्रसाद शर्मा सहितका वक्ताहरूले राष्ट्रिय स्तरमा महिलाहरूको लागि पहिलो हक्की प्रतियोगिता हुन लागेकाले यसले खेलको वातावरण बढाउने बताउनु भयो । 

प्रतियोगितामा कर्णाली बाहेकका ६ प्रदेश, त्रिभुवन आर्मी क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका टिम गरेर ८ टिमका १ सय ५० खेलाडी सहभागी रहेका छन् । प्रतियोगिता १९ गतेसम्म चल्नेछ । 

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र कप, द्वितीय हुनेलाई कप सहित १ लाख तथा तृतीय हुने टिमलाई कप सहित ५० हजार नगद प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई १० हजार र उमन अफ दि म्याच हुनेलाई ५ हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन् । 

यसै बीच आज भएको दुई वटा उद्घाटन खेलमा मधेशको २ गोलको विरुद्धमा ३ गोल गरेर विजयी भएका छन् भने यसै गरि बागमती प्रदेशलाई शून्यका विरुद्धमा ५ गोल सहित विजयी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button