तपाईँ सुन्दै हुनुहुन्छः

परम्परागत संस्कृति  जगेर्ना गर्न महिला देउडा महोत्सव

मुगु । परम्परागत अन्नबाली र मौलिक कलाको रूपमा रहेको स्थानीय लोक सांस्कृतिक लोप हुँदै गइरहेको अवस्थामा यसको जगेर्ना गर्न र स्थानीय पुराना अन्नबाली उत्पादनमा जोड दिन गत मङ्गलवारदेखि गमगढीमा महिला देउडा महोत्सवको आयोजना गरिएको छ ।   

छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोग तथा मनोलिसा मिडिया प्रालिको आयोजनामा महिला देउडा महोत्सवको आयोजना गरिएको हो ।

पछिल्लो समयमा आधुनिकतामा रमाउँदै आएका पछिल्लो समयका युवा पुस्ताका मानिसहरूलाई परम्परागत रीतिरिवाज ,चालचलन, गीत सङ्गीतका साथै रैथाने बालीको संरक्षण, स्थानीय पहिरन, र स्थानीय परम्परागत अन्नबालीका खानाका परिकारहरूका साथै यसको संरक्षण तथा महत्वबारे पुस्तान्तरण गर्नको लागि सन्देश दिन महिला देउडा महोत्सवको आयोजना गरिएको मनोलिसा मिडिया प्रालिका व्यवस्थापक वसन्त बाक्चनले जानकारी दिनुभयो ।   

“समाजमा केही कुराको जानकारी र सन्देश दिन अन्य कार्यक्रमभन्दा गीत, सङ्गीत र देउडा खेलको अत्यन्तै प्रभावकारी भूमिका हुन्छ ।”,  उहाँले भन्नुभयो । उहाँले युवा जनमानसमा, स्थानीय देउडाको संरक्षणका लागि चेतनाको सन्देश फैलाउनका लागि  छायानाथ रारा नगरपालिकासँग समन्वय गरेको बताउनुभयो ।

छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले स्थानीय, मौलिक परम्परा,भेषभुसा ,चालचलन, धर्म  र सांस्कृतिक जगेर्ना गर्नु नगरपालिकाको नीति तथा कार्यक्रमले समेटेकाले यसलाई जोड दिनु आफ्नो कर्तव्य रहेको बताउनभयो ।

छायानाथ रारा नगरपालिका भित्रका महिलाहरूले विभिन्न समूह बनाई आफ्नो समूह गत प्रतिस्पर्धाका लागि स्थानीय परम्परागत भेषभुसाका पहिरनसहित देउडा प्रस्तुत गरिएको  थियो । 

स्थानीय उत्पादनका विभिन्न  परिकार, र लुकेका पहिरन र भेषभुसा सहितको र सन्देशमूलक देउडा गीत हेर्नका लागि दूर दराजका बस्तीहरूबाट बुढापाका हरूको बाक्लो सहभागिता रहेको छ ।

नगरपालिका क्षेत्र भित्रका विभिन्न १४ वटा समूहले  देउडा महोत्सवमा भाग लिएका थिए ।  एक हप्तासम्म सञ्चालन भएको देउडा महोत्सव आज सकिने र आउने मङ्गलवारका दिन सहभागी समूह मध्येबाट प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने प्रतियोगी महिला देउडा समूहका खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

पुराना पुस्ताका मौलिक परम्परा, पहिरन, अन्न बालीका साथै  झोडा, देउडा, बालो, चम्पा, बाक्टे, चाँचडीसँगै देउडा खेलहरू समेत लोप हुने अवस्थामा रहेकाले यसलाई संरक्षण गर्नको लागि स्थानीय निकायले अझै प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button