तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानून बनाउने सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानुनहरू आगामी असोज ३ गतेभित्र बनाई सक्नुपर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । 

सङ्कल्प प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसदहरुले संविधान निर्माणको एक दशक पुग्न लाग्दा समेत मौलिकहरू कार्यान्वयन हुन नसक्ने अवस्था देखिएकोले २०८१ असोज ३ गते नवौं संविधान दिवस मनाउनु अगाडि नै मौलिक हकहरू कार्यान्वयनका लागि आवश्यक कानुनहरू निर्माण गरिसक्न सङ्कल्प प्रस्ताव पेश गरेको बताउनुभयो । 

सङ्कल्प प्रस्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मौलिक हक कार्यान्वयनका लागि आवश्यक केही महत्वपूर्ण विधेयकहरू सांसदका विभिन्न समितिहरूमा छलफलका क्रममा रहेको र बाँकी विधेयकहरू समेत यथासम्भव छिटो ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० पेश गर्नुभयो । 

यस्तै, बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पेश गर्नुभएको विधायन सम्बन्धी विधेयक २०८० पारित गरेको छ । 

यसअघि, राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसदहरुले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गरी गरी थप नयाँ आयोजनाहरू समेत अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले मिटरब्याज पीडितहरूले न्याय पाउनुपर्ने, बालकुमारी दोषीहरू माथि कारबाही हुनुपर्ने, विभिन्न अनियमिततामा र विवादमा परेका मन्त्रीहरूलाई पदमुक्त गरी छानबिनको दायरामा ल्याउनुपर्ने, आरती शाहका परिवारलाई न्याय दिनुपर्ने, स्वास्थ्य बीमा सेवालाई व्यवस्थित र जनताको पहुँचमा पु¥याउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिको काममा ढिलाइ हुँदा जनताले पाइरहेको दुःख बुझ्न र सरकारी संयन्त्रहरूलाई सक्रिय बनाई नागरिकका जनजीविका सहज बनाउनेतर्फ ध्यान दिन सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले प्रदेश र स्थानीय सरकारलाई पर्याप्त बजेट तथा अधिकार उपलब्ध गराई सङ्घीयताको सार्थक कार्यान्वयनमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रियसभाको अर्को बैठक फागुन १४ गते सोमबार बिहान ११ः०० बजेर १ मिनेटमा बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button