डोटीको गड्सेरामा रेडियो नेपालले आयोजना गर्यो शैक्षिक बहस
डोटी । रेडियो नेपालले नियमित रूपमा समुदायमै गएर सञ्चालन गरिरहेको रेडियो बहसअन्तर्गत आज (मङ्गलवार) डोटीको जोरायल गाउँपालिका वडा नम्बर ५ गड्सेरामा ‘सामुदायिक विद्यालयमा किन शैक्षिक स्तर खस्किँदो छ’ भन्ने विषयमा बहस गरिएको छ ।

कार्यक्रममा प्राध्यापक डा. रामचन्द्र विनाडी, शिक्षाविद् प्रेमराज भण्डारी, नवोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज भट्ट, वडा नम्बर ५ का वडाध्यक्ष भोजबहादुर देउवालगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको सहभागिता थियो ।
कार्यक्रमका सहभागीहरूले विद्यालयमा भौतिक पूर्वाधारको अभाव रहेकाले पठनपाठनमा समस्या भइरहेको गुनासो गर्नुभयो । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक जति जागरूक हुनुपर्ने हो त्यति नभएका कारण पनि शैक्षिक स्तर माथि उठ्न नसकेको उहाँहरूको भनाइ थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिले शैक्षिक अधिकार पालिकालाई दिन कन्जुस्याइँ गरिएकाले पनि सोचेअनुरूप शिक्षामा सुधार हुन नसकेको बताउनुभयो ।
राम्रा विद्यार्थी निजी विद्यालयमा आकर्षित हुने परिपाटीले सामुदायिक विद्यालयको नतिजा कमजोर देखिने गरेको शिक्षकहरूले बताउनुभयो । यद्यपि तुलनात्मक रूपमा सामुदायिक विद्यालयको नतिजा कमजोर भने नरहेको उहाँहरूको भनाइ थियो ।
विद्यालयमा राजनीति बढेको गुनासोलाई सम्बोधन गर्न नीतिगत सुधार हुनुपर्नेमा सहभागीहरूले जोड दिनुभयो । उहाँहरूले सीमित स्रोतसाधनका बाबजुद निजी विद्यालयको शैक्षिक स्तर माथि उठाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको सहजिकरण रेडियो नेपालका मुकुन्द भण्डारीले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्