तपाईँ सुन्दै हुनुहुन्छः

सुशील कोइराला मेमोरियल यु–१९ महिला क्रिकेट : सुदूरपश्चिम र कोहलपुर मेयर–११ फाइनलमा

बाँके । सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेका छन्।

कोहलपुर नगरपालिका द्वारा आयोजित प्रतियोगिताको लिग चरणको सबै खेल समाप्त हुँदा सबै चार खेल जित्दै ८ अङ्कसहित कोहलपुर मेयर–११ अङ्कतालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्‍यो। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अङ्क रहेता पनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अङ्कतालिकाको दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गर्‍यो। सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको ०.४९२ रह्यो।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ विजयी भए। सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई पराजित गरे ।

आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो। लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर ७.४ ओभरमा भेटायो।

सुदूरपश्चिमको लागि मनिषा बोहराले १४ बलमा ४ चौका मद्दतले सर्वाधिक २३ तथा अनु कडायतले १७ बलमा ३ चौका मद्दतले १८ रन योगदान दिइन्। स्नेहा महराले १० रन योगदान दिइन्। लुम्बिनीको बलिङमा सुश्मिता भुसालले २ र सरु तिवारीले १ विकेट लिइन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १९.३ ओभरमा ५९ रनमा सबै विकेट गुमायो। लुम्बिनीको लागि एन्जिला पाठकले सर्वाधिक १७ रन योगदान दिइन्। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमले अतिरिक्तको रुपमा १७ रन खर्चियो। सुदूरपश्चिमको बलिङमा रबिना साउदले सर्वाधिक ३ विकेट लिइन्। प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा ९ रन खर्चिन्। करिश्मा थापाले २ तथा अनु कडायत र निशा खडायतले १र१ विकेट लिए ।

आजको दोस्रो खेलमा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्‍यो। कोहलपुर मेयर–११ ले दिएको १३३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।

बागमतीको लागि बिपिशा शाहीले सर्वाधिक २१ रन, अलिशा खड्काले १८ तथा क्रिश्मा गुरुङले १६ रन योगदान दिए ।

कोहलपुर मेयर–११ को बलिङमा प्रतिमा शाहले २ विकेट लिँदा भवानी कमाती, आरती महतो, दिक्ष्या पुरी र रिया शर्माले १र१ विकेट लिए। टस जितेर ब्याटिङ गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १३२ रन बनायो।

कोहलपुरको लागि कप्तान साना प्रभिनले अविजित ४८ तथा अविजित एलिशा यादवले ४७ रन बनाए। प्रभिनले ६० बलमा ५ चौका तथा यादवले ४६ बलमा ६ चौका प्रहार गरे। किरण कुँवरले १५ रन बनाए। दोस्रो विकेटको लागि प्रभिन र यादवले अविजित १०३ रनको साझेदारी गरे।

उपाधिको लागि भोलि बिहीबार सुदूरपश्चिम र कोहलपुर मेयर–११ बीचको खेल कोहलपुर क्रिकेट मैदानमा बिहान १० बजे हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button