हराउँदै टायरगाडा

नवलपरासी,पश्चिम् । कुनै बेला महत्वपूर्ण मानिने यातायात वा ढुवानीको साधन टायर गाडाको प्रचलन हराउँदै गएको छ । तराईको जन जीवनमा जन्मदेखि मृत्युसम्म जोडिने टायर गाडा अहिले भने यदाकदा देख्ने पाइन्छ । १०–१५ बर्ष पछाडि फर्केर हेर्ने हो भने तराईमा टायर गाडा यातायातको साधन मात्रै होइन अन्नबाली र सामान ढुवानीका लागिसमेत उपयुक्त ढुवानीको साधन मानिन्थ्यो । मुलत ः कृषि प्रयोजनका लागि आम किसानले यसको प्रयोग गर्ने गर्दथे ।मल,बिउ बिजन,अन्नपात भित्र्याउन र मालसामान ओसारपसारका लागी टायर गाडा ग्रामीण बस्तीमा लोकप्रिय नै थियो। सो समयमा दैनिक जीवनयापनमा गाढा अपरिहार्य नै थियो । केहिकालागी टायर गाडा जीविकोपार्जन गर्ने व्यवसाय नै थियो ।

टायर गाडाको प्रचलन आएपछि काठबाट बनेको काठकै पाङ्ग्रासहितको लडिया (गाडा) विस्थापित नै भयो । यद्यपि टायर गाडा भने विस्थापितको अन्तिम चरणमा छ। तराईमा विवाहमा समेत जन्ती जाँदा बेहुलालाई गाडामा हालेर लगिन्थ्यो र बेहुली गाडामै ल्याएर भित्र्याइन्थ्यो । गोरु र पाडा (राँगा)को सहायतामा चल्ने गाडा अहिले लोपोन्मुख अवस्थामा छ ।
सवारी साधनको बिकास,आधुनिकता र कृषि क्षेत्रमा भित्रिएको यान्त्रिकीकरणले गाडालाई विस्थापित गरेको छ । तर कहिलेकाहीँ ग्रामीण बस्तीहरूमा टायर गाडा देख्ने गरिन्छ ।अझैसम्म पनि गाडा चलाउँदै आउनु भएका सुस्ता गाउँपालिका वडा नम्बर २ महलबारीका धकराज चौधरीले अहिले पनि टायर गाडाबाट दैनिक २ हजार ५ सय कमाउने गरेको बताउनुहुन्छ। ‘गाडा त अहिले हरायो तर मैले चिनी मिलका लागि उखु र गाउँतिर मल र अरू सामान ओसारपसार गरेर राम्रो कमाई गर्छु।मेरो घरको खर्च यही गाडाले चलेको छ,थुप्रै वर्षदेखि चलाउँदै आएको छु,जहिलेसम्म चल्छ चलाउने हो’, चौधरीले हाँस्दै भन्नू भयो । गाडा चलाउनका लागि उहाँले एक हल राँगा पाल्नु भएको छ । मिलमा धान कुटाउन,बनबाट घाँस दाउरा गर्न,धान,पराल ओसार्न तत्कालीन समयमा टायर गाडा प्रमुख साधनको रुपमा थियो । मानिस बिरामी पर्दासमेत गाडामा राखेर स्वास्थ्य संस्था पुर्याउने गरिन्थ्यो ।

सरावल गाउँपालिका वडा नम्बर ७ का मदन शहानीले पनि अझै गोरु गाडाको प्रयोग गर्दै आउनु भएको छ । गाडा खेतमा उभ्याएर खेत खनिरहनु भएका शहानीले मल बिउ बिजन बोक्न र घरायसी कामका लागि गोरुगाडा चलाउँदै आएको बताउनु भयो । ‘आज खेतमा मल र बीउ ल्याउन थियो अनि गोरुगाडा लिएर आए ।मैले १० वर्षदेखि गाढा चलाउँदै छु ।सानो तिनो घरको सामान ल्याउन लैजान सजिलो छ।भाडा पनि लागेन’, शाहानीले भन्नु भयो ।

गोरु र राँगाले हाँक्ने टायर गाडाको प्रचलन हराउँदै गएपछि अहिले ट्याक्टरको प्रचलन बढ्दो छ । कृषिमा यान्त्रिकीकरणको बिस्तारसँगै हलो जोत्न समेत नपर्ने भएपछि गोरु समेत पाल्न छाड्दा छाडा चौपायाको रुपमा गाईगोरु व्यवस्थापनमा चुनौतीसमेत देखिएको छ । राँगा मासुका लागि बिक्री हुनेहुँदा गाडाको प्रयोगमा कहिँकतै राँगाको प्रयोग गरेको पाइन्छ । कुनै समय गाडा तराइवासीको जीवनजगतको इतिहास नै बनेको थियो। बिरलै देखिने हलो,गाडाहरूको महत्व आधुनिकतासँगै हराउँदै जानू स्वभाविक पनि हो ।तर यो भावी पुस्ताका लागि इतिहास बन्न नसक्ला भन्न सकिँदैन ।







प्रतिक्रिया राख्नुहोस्