लोकतन्त्रलाई बलियो बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक : प्रदेश प्रमुख मिश्र

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सुशासन तथा विकासले मात्र लोकतन्त्र बलियो हुने भएकाले सुशासन स्थापनाका लागि अख्तियारको दायरा बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेश प्रमुख मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसको अवसरमा आयोगको बर्दिबास कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख मिश्रले अख्तियारले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफ्नो कामलाई अझै प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो ।
उहाँले आगामी दिनमा आयोगले भ्रष्टाचारको घटनाहरूको निष्पक्ष छानविन गरि दोषीमाथि कारबाही गरेर मुलुकवासीमा सुशासन, विकास तथा परिवर्तनको अनुभूति गराउन जरुरी रहेको बताउनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचार मुलुकका लागि क्यान्सर रोगभन्दा पनि ठूलो रोग भएको उल्लेख गर्नुहुँदै भ्रष्टाचार नियन्त्रणका गर्न प्रदेश सरकार लागिपरेको र यसको नियन्त्रणका लागि सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले प्रदेशमा हुने गरेको आर्थिक अनियमितता रोक्नका लागि सुशासन सम्बन्धि ऐन ल्याउन लागेको जानकारी दिनुहुँदै घुस खानु र घुस दिनु दुवै प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्ने बताउनुभयो ।
मुख्यमन्त्रीले यादवले लोकसेवा आयोगको परीक्षा तथा परीक्षाको परिणाम निष्पक्ष भएपनि यसमा आफूलाई पैरवी गरिदिन तथा कति रकम दिनुपर्दछ भन्नका लागि परीक्षार्थीको अभिभावकबाट आउने गरेको भन्नुहुँदै घुस दिने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले सुशासन तथा भ्रष्टाचार नियन्त्रणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै आर्थिक अनियमितता तथा अन्य प्रकारको चलखेलमा निष्पक्ष भएर कलम चलाई दिन आग्रह समेत गर्नुभयो ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले दृश्य तथा अदृश्य रुपमा हुने गरेको भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक उत्पीडनका विषयहरूको समयमा सम्बोधनले पनि सुशासन स्थापनामा बल पुग्ने बताउनुभयो ।
उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले धार्मिक, नैतिक तथा कानूनी रुपमा हुने गरेको भ्रष्टाचारको नियन्त्रणका लागि अख्तियारको छानबिनको दायरा बढाउन जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका मुख्य सचिव दिनेश घिमिरेले मुलुकमा सुशासन स्थापना गर्ने प्रमुख दायित्व कार्यकारी सरकार तथा कार्यालय प्रमुखको भएको उल्लेख गर्नुहुँदै यसमा कमी कमजोरी भएको खण्डमा मात्र आयोगले हेर्ने गरेको बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्घले सरकार तथा कार्यालय प्रमुखको प्रमुख दायित्व नै सुशासन र भ्रष्टाचारको नियन्त्रण गर्नु भएकाले सरकारले गर्न नसकेको खण्डमा आयोगले हेर्ने गरेको बताउनुभयो ।
अख्तियारको बर्दिबास कार्यालयको कार्यक्षेत्र भएका जिल्लाहरूका माध्यमिक तहका विद्यार्थीहरूका लागि सुशासन सम्बन्धि निबन्ध प्रतियोगितामा प्रथम हुने महोत्तरीको श्रीराम माध्यमिक विद्यालयका छात्रा हिना खातुनलाई प्रदेश प्रमुख मिश्रले १५ हजार नगर प्रमाणपत्र प्रदान र द्वितीय हुने महोत्तरीकै नेहा कुमारी राउतलाई १२ हजार नगद, प्रमाणपत्र तथा तृतीय हुने सिन्धुलीका प्रकृति श्रेष्ठलाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्