तपाईँ सुन्दै हुनुहुन्छः

सेवामुखी भएर लघुवित्तले आफ्नो सेवा प्रवाह गर्नुपर्छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले नाफामुखीभन्दा पनि सेवामुखी भएर लघुवित्तहरूले आफ्नो सेवा प्रवाह गर्नुपर्ने बताउनु भएको छ ।

विराटनगरमा आज आयोजित लघुवित्त सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रममा उहाँले गरिब तथा अति विपन्न समुदायको जीवनस्तर सुधार गर्न तथा रोजगारीको अवसर सृजना गर्न लघुवित्तको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो  ।

समयको आवश्यकता अनुसार लघुवित्तले सिप सिकाउँदै आफ्नो सेवा प्रवाह गर्नु पर्ने तथा  गरिब तथा अति विपन्न समुदायको घर आँगन सम्म लघुवित्तको सहज पहुँच पुग्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले मुलुकमा दण्डहीनता र भ्रष्टाचार बढेका कारण जनताले सुशासनको अनुभूति गर्न नपाएको बताउनुभयो ।  नेपालमा प्रजातन्त्र स्थापना भएपनि त्यसको अनुभूति जनताले गर्न नपाएको उहाँको भनाई थियो ।

नेता कोइरालाले नेपालमा वैंकर्स र व्यापारी एकै व्यक्ती हुने गरेकाले सरकारले पाँच प्रतिशतमा उपलब्ध हुने कृषि ऋण समेत किसानले नभई ठुलाठुला उद्योगपतिहरूले पाउने गरेकाले त्यसतर्फ राष्ट्र बैङ्कको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

जीवन विकास लघुवित्त संस्थाका संस्थापक एवं मोरङ क्षेत्र न ५ का सांसद योगेन्द्र प्रसाद मण्डलले वित्तीय संस्थाहरूले गरिब तथा अति विपन्न समुदायका महिलाहरूलाई उद्यमी बनाउँदै रोजगारीको अवसर सृजना गरेको बताउनुभयो । 

उहाँले आफ्नो संस्थाले कृषि, पशुपालन लगायतका क्षेत्रमा सहुलियत दरमा अतिविपन्न समुदायलाई ऋण प्रभा गरेर उनीहरूको जीवनयापन सहज बनाएको बताउनु भयो ।

कोशी प्रदेशका प्रदेशसभा सदस्य गयानन्द मण्डलले मुलुकको आर्थिक विकासमा लघुवित्तको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो कार्यक्रममा लघुवित्त संस्थाहरूले आ–आफ्नो प्रतिवेदन सार्वजनिक गरेका थिए  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button