आर्थिक समृद्धिका लागि सुशासनलाई कायम गर्नु अनिवार्य शर्त : उपप्रधानमन्त्री श्रेष्ठ

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुनसुकै दोषीलाई कारबाही गर्न जतिसुकै दबाब आएपनि सरकारले नछाड्ने बताउनुभएको छ ।
पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री श्रेष्ठले राज्य लुट्ने र भ्रष्टाचार गर्ने जुनसुकै नेता, कर्मचारी र व्यवसायीलाई कारबाही गरिने बताउनुभयो ।
राज्य लुट्ने र भ्रष्टाचारीलाई कारबाही गर्दा कोही आतङ्कित हुँदैमा केही फरक नपर्ने भन्नुहुँदै उहाँले देशमा कसैलाई जालसाँझी, भ्रष्टाचार गर्ने छुट नभएको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले अपराधी गतिविधिमा संलग्न भएकालाई कारबाही गर्न निर्देशन दिनुभयो । देश बरबाद हुँदै जाओस्, भ्रष्टाचार पनि बढ्दै जाओस्, त्यसको निम्ति हामी पनि सेवा गर्न पाउँ भनेर रातो कार्पेट बिछ्याउने पक्षमा सरकार नरहेको उहाँको भनाइ छ।
भ्रष्टाचारी, जालसाजी, ठगी गर्ने र सङ्गठित अपराध गर्नेलाई दृढतापूर्वक कारवाहीको प्रक्रिया अगाडि बढाइने तर कानुनविरुद्ध गएर कसैलाई कारबाही गर्ने वा डाम्ने काम भने नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।
देशमा आर्थिक समृद्धिका लागि सुशासनलाई कायम गर्नु अनिवार्य शर्त भएको उल्लेख गर्नुहुँदै त्यसलाई बुझेर नै सरकारले सुशासनको अभियान चालेको बताउनुभयो । भ्रष्टाचारका फाइलहरू निरन्तर खोलिने भन्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले जनताको अपेक्षाअनुसार फटाफट खोल्न कठिन हुने त्यसका विधि प्रक्रिया र अध्ययन अनुसन्धान गर्न समय लाग्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको फाइल खोल्दै जाँदा राजनीतिक सौदाबाजी नगर्ने बताउनुभयो।
उहाँले गण्डकी प्रदेशका दुई नाकाहरू कोरला र त्रिवेणी नाकामा सुरक्षा चुनौती नरहेको उल्लेख गर्नुहुँदै तर त्यहाँ व्यवस्थापनको भने समस्या रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्