जनकपुरधाममा भोलिदेखि साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

जनकपुरधाममा । जनकपुरधाममा बिहीबारदेखि जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना हुन लागेको छ ।
कोषले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी भोलि बिहीबारदेखि जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरु हुन लागेको जानकारी दिएको हो ।
मैथिली भाषा, साहित्य, संस्कृति, कलाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो ।
पाँच दिनसम्म चल्ने महोत्सवमा विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगितासहित सांस्कृतिक कार्यक्रमको आयोजना हुने अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँका अनुसार महोत्सव मैथिली विकास कोष, मधेस सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको सह आयोजनामा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रमा हुनेछ ।
भोलिदेखि सोमबारसम्म चल्ने महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र समापन समारोह मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले गर्ने कार्यक्रम रहेको कोषका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
महोत्सवको क्रममा ‘नव घरउठय पुरान घर …?’, ‘सामाजिक सञ्जाल की जञ्जाल…?’, ‘मिथिला मधेश उर्वर की जर्जर…?’, ‘भाषा एक नाम अनेक’, ‘मिथिलामे सीमान्त’लगायतको विषयमा विमर्श हुने कोषका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
महोत्सवमा ५२ लाख खर्च हुने अनुमान रहेकोमा २० लाख वाणिज्य तथा पर्यटन मन्त्रालयले र ८ लाख उपमहानगर तथा बाँकी रकमको व्यवस्था कोषले गर्ने कोषका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
महोत्सवमा नेपाल तथा भारतका एकसय भन्दा बढी विद्वान, साहित्यकार, कलाकार, लेखक, सहितका प्रबुद्ध व्यक्तिहरू सहभागी हुने कोषले जनाएको छ ।
कोषले यसअघि २०७३, २०७५ र २०७८ सालमा महोत्सवको आयोजना गरेको थियो ।
कोषले प्रत्येक २ वर्षको अन्तरालमा कार्यक्रम गरे पनि कार्यक्रमबाट भएको उपलब्धि सहितका विषयमा समीक्षा र संवाद गर्ने गरेको छैन ।






प्रतिक्रिया राख्नुहोस्