रामग्राम स्तूप निजी क्षेत्रलाई दिइएकोमा सरोकारवालाको आपत्ति

नवलपरासी,पश्चिम् । बुद्धको एक मात्र सिङ्गो अस्थिधातु रहेको पश्चिम नवलपरासीको रामग्राममा समाधिस्थल बिना प्रतिस्पर्धा लिजमा दिने लुम्बिनी विकास कोषको निर्णयप्रति जिल्लामा रहेका सरोकारवालाहरुले ध्यानाकर्षणसहित आपत्ति जनाएका छन् ।
रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले रामग्राम स्तूप क्षेत्रको निजी कम्पनीलाई लिज(भाडा)मा दिएको विषयलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ ।
पुरातात्त्विक स्थल बदनीयतपूर्ण तरीकाले गरिएको कोषको निर्णयले रामग्राम स्तूपको अस्तित्व नै भविष्यमा खतरामा पर्ने अवस्था आउन सक्ने सो संस्थाका अध्यक्ष शम्भु उपाध्यायले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । उक्त निर्णय खारेज हुनुपर्ने र रामग्राम स्तूपको संरक्षण र विकास सरकार वा सम्बन्धित निकायले स्वयं गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

यसै गरि अखिल क्रान्तिकारी र युवा संघ पश्चिम् नवलपरासीलेसमेत संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पदीय दुरुपयोग गरि गरिएको सम्झौता खारेज गरी प्रतिस्पर्धात्मक रुपमा प्रक्रिया अघि बढाउन माग गरिएको छ । यतिबेला सामाजिक सञ्जालमासमेत यो निर्णयको चौतर्फी बिरोध भएको छ । रामग्राम स्तूपको पर्यटन प्रवर्द्धन र विकाससँगै पश्चिम् नवलपरासीको आर्थिक विकासमासमेत टेवा पुग्ने अपेक्षा गरेका यहाँका सरोकारवाला र नागरिकहरू पनि विकास कोषको यो निर्णयले सशङ्कित भएका छन् ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समेत यस विषयमा छानबिन थालेको छ । स्थानीयको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा जग्गा ९९ वर्षका लागि लिजमा दिने गरी कोषले समझदारी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्