किसानहरू काउलीबाट राम्रो आम्दानी लिन सफल
सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकाका किसानहरू काउली खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
तरकारीका लागि उर्वर भूमि मानिएको सुनसरीको देवानगंज गाउँपालिकाका किसानहरू अहिले मौसमी काउली र बन्दाकोबीबाट मनग्य आम्दानी लिइरहेका छन् ।
कम मेहनत र थोरै परिश्रमबाट राम्रो उत्पादन गर्न सकिने भएपछि देवानगंजका किसान सुनिल मेहताले करिब ३ बिगाहा क्षेत्रफलमा काउली लगाएर मनग्य आम्दानी लिन सफल भएको बताउनुभयो ।

दैनिक रुपमा रु. पाँच हजारदेखि आठ हजार सम्मको काउली बेच्ने गरेको उहाँको भनाइ छ । मेहताले हाल चाडपर्वसँगै विवाह, व्रतबन्ध समेत हुने गरेकोले बजारमा काउलीको माग बढेका कारण आफु सो खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।
सबै खर्च कटाएर माघ पहिलो सातासम्म दुई लाख बचत भएको मेहताले जानकारी दिनुभयो ।
अर्का किसान दिपक पालले पनि एक बिगाहा क्षेत्रफलमा गरिएको काउली खेतीबाट राम्रै प्रतिफल पाएको बताउनéयो ।
अन्य बालीको तुलनामा थोरै गोडमेल गर्नुपर्ने तथा दुई देखि तीन पटकसम्म सिँचाई पुर्याए काउली खेतीबाट राम्रो आम्दानी हुने गरेको पालले जानकारी दिनुभयो ।
सुरुमा यस भेगका किसानले सानो क्षेत्रफलमा काउली खेती लगाउने गरेकोमा हाल आएर बजार माग बढेसँगै काउली खेती विस्तार गरिरहेका छन् ।
किसानले उत्पादन गर्ने काउली स्थानीय हाट बजारमा विक्री हुनुका साथै खेतबारीमै व्यापारीहरू आएर लाने भएकाले विक्री वितरणमा खासै समस्या नरहेको अर्का किसान राम किसुन मेहताको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्