जाडो छल्न बुकीका भेडाबाख्रा १७ दिन हिँडाएर ताराखोलामा

बागलुङ । ढोरपाटन बुकी क्षेत्रमा चरणको लागि लगिएका २ सय ८० वटा भेडा पुस,माघको जाडो छल्न १७ दिन हिँडाएर ताराखोला लाइएको छ ।
लामो समयदेखि भेडाबाख्रा पालन गर्दै आएका गोविन्द अदैले उच्च भागमा जाडो हुने र हिमपात पर्न सक्ने भन्दै भेडाबाख्रालाई गाउँपालिकाको वडा न ४ नागबेली खोलासम्म झार्नुभएको हो ।
ढोरपाटनको बुकी देखि हिँडेका भेडा लुकुरवन, गुर्जाघात बोङगादोभान,बराहतालहुँदै १७ दिन लगाएर ताराखोलाको बेसी झारेको उहाँले बताउनुभयो । ‘हामी फिरन्ते जीवन जिउन सक्छौँ । टिरपाल मुनी बास हुन्छ । दिन भरि ग्वाला गर्छौ, साँझमा २ कुकुर लक्की र शक्तिले हेरचाह गर्छन् ।’उहाँले भन्नुभयो ।

१२ वर्षदेखि अरूको ग्वाला (गोठालो) गर्दै आउनुभएका उहाँ केही समय अघिमात्र वैदेशिक रोजगारीबाट फर्किनुभएको हो । विदेशबाट फर्किएपछि दुई देशमै केही गर्ने उद्देश्य बोकेर रु. दुई लाखको लगानीमा दुई वर्ष अघिबाट आफैले १६ वटा भेडा र २० वटा बाख्रा किनेर व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो ।
अदैका अहिले अहिले २ सय ८० वटा भेडा र बाख्रा छन् । ‘घरमा जानु भनेको प्रदेशबाट घर फर्कनु जस्तै हो । पालैपालो घर जान्छौ । घर न जङ्गल बनेको छ’, उहाँको भनाई छ ।
‘हामीले वर्षमा ५ लाखदेखि ७ लाखसम्म साँढ र बोका , भेडा बेच्छौँ । एउटा भेडाको साँढको मूल्य १० हजारदेखि ५० हजारसम्म पर्छ’ उहाँको भनाई छ । एउटा भेडीको २५ हजारसम्म पर्ने उहाँले बताउनुभयो ।
भेडा बाख्रा चराउनका लागि गर्मीमा ढोरपाटन प्युठान हुँदै,गलकोट ताराखोलासम्म जाने गरेको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्