नेपालमै पहिलो पल्ट पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप हुने
पोखरा । पर्यटकीय नगरी, पोखरामा पहिलो पटक ‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने भएको छ ।
विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा उक्त च्याम्पियनसिप हुने शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पोखरा राइडर्स क्लबको आयोजनामा हुने प्रतियोगितामा करिब ३० जना खेलाडीले सहभागी हुने कार्यक्रम संयोजक जगत धौलीले बताउनुभयो । उक्त च्याम्पियनसिप नेपालमै पहिलो पल्ट हुन लागेको आयोजकले दाबी गरेको छ ।
भर्खरै जन्मिएको क्लबले पहिलो पल्ट यति बृहत् प्रतियोगिता गर्न लागेको जनाउँदै संयोजक धौलीले सबैसँग सहयोगको अपेक्षा गरेको बताउनु भयो । राष्ट्रियस्तरको यो प्रतियोगितामा सुरक्षा चुनौती महत्वपूर्ण रहेकोमा आफूहरू त्यसतर्फ सचेत रहेको उहाँले जनाउनुभयो ।

प्रतियोगिताका लागि खेलाडीको दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिखेलाडी १७ हजार लाग्नेछ । खुला र महिला गरी दुई इभेन्टमा खेलाइने प्रतियोगितामा पहिलो दिन खेलाडी छनोट हुने र भोलिपल्ट प्रतियोगिता हुनेछ । खुला र महिला दुवैतर्फ विजेताले जनही १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार प्राप्त गर्ने छ । साथै चौथो र पाँचौँले गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले साहसिक खेलका कारण पोखराको खेल र पर्यटन विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्दै मिडियाको साथै सधैँ रहिरहने जनाउनुभयो ।
सो च्याम्पियनसिपमा करिब २९ लाख ५३ हजार रुपैयाँ खर्च लाग्ने सचिव सुजन हमालले बताउनुभयो । प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, माउन्टेन स्पोर्टस् फेडेरेसन–नेपाल, राखेप, नेपाल अटोमोबाइल्स् एसोसिएसन (नासा), पोखरा, विभिन्न सङ्घसंस्थाबाट सहयोग हुने भएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्