तपाईँ सुन्दै हुनुहुन्छः

आईएमएफ सम्झौताबारे मिलेर काम गर्न राष्ट्रपति विक्रमासिङ्घेको आग्रह

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग भएको सम्झौतामा देशको अडान र कुनै संशोधन आवश्यक छ कि छैन भन्ने विषयमा छलफल गर्न संसद्मा रहेका सबै राजनीतिक दलका नेतालाई आग्रह गर्नुभएको छ । 

राष्ट्रपति विक्रमासिङ्घेले सम्झौता कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशकसँग छलफल गर्न आफूले नेताहरूलाई निमन्त्रणा गरेको राष्ट्रपतिको सञ्चार महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले राजनीतिक दलले सहकार्य गरेर विभिन्न दृष्टिकोणको खोजी गर्नुपर्ने र लाभप्रद ठानेमा संशोधन प्रस्ताव गर्नुपर्ने बताउनुभयो । 

सम्झौताका लागि संशोधन प्रक्रिया छलफलका लागि खुला भए पनि विद्यमान सम्झौतालाई स्वीकार गरी त्यसको कार्यान्वयनका लागि काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

राष्ट्रपति विक्रमासिङ्घेले देशलाई सफलतातर्फ डो¥याउन एकताको महत्वमा जोड दिँदै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सम्झौताबाट पछि हट्दा श्रीलङ्काको अर्थतन्त्रप्रतिको विश्वास खतरामा पर्ने बताउनुभयो । 

प्रतिबद्धताको राजनीतिका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको उल्लेख गर्दै उहाँले निर्वाचनको तयारीमा सबै राजनीतिक दलले मुलुकको विकासका लागि व्यापक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

मार्च २०२३ मा, आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न लगभग तीन अर्ब अमेरिकी डलरको ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो । रासस÷एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button