समस्या समाधानका उपायसहित १६ औँ योजना तर्जुमा गर्न उपप्रधानमन्त्री खड्काको सुझाव
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विगतमा बनाएका योजना पुरा नहुनुका कारण पत्ता लगाई समाधानका उपायसहित १६ औँ योजना तर्जुमा गर्न सुझाव दिनुभएको छ ।

उपप्रधानमन्त्री खड्काले आज रक्षा मन्त्रालयमा १६ औँ आवधिक योजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा योजना बनाउँदा विभिन्न कारणले विकास निमार्णमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्ति सहितको योजना बनाउने विषयमा ध्यानाकर्षण गराउनुभयो ।
योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा लागु हुने गरी बनाउनुपर्ने उपप्रधानमन्त्री खड्काले सुझाव दिनुभयो ।
छलफलमा उपप्रधानमन्त्री खड्काले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।

अहिले विकास निर्माण गर्दा देखा परेका धेरै जसो समस्या र तिनको समाधानसहित नयाँ योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री खड्काले विकास निर्माण गर्दा देखा परिरहेका लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानीको झन्झटिलो व्यवस्थाको सही विकल्प पहिचान गरी योजना तर्जुमा गर्न योजना आयोगलाई आग्रह गर्नुभयो ।
त्यस्तै, कुनै पनि योजना बनाउँदा जनताले दैनिक रुपमा भोगिरहेका समस्याको समाधान हुने र जनताले पाउने सेवा सुविधालाई थप सहज बनाउने गरी समग्रतामा उल्लेख गरी कार्यान्वयन योग्य लक्ष्य प्राप्तीको सुनिश्चितता गर्न उपप्रधानमन्त्री खड्काले आग्रह गर्नुभयो ।
छलफलको सुरुमा योजना आयोगका उपाध्यक्ष र पदाधिकारीहरूले १६ औँ आवधिक योजनाको तयारीबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्