तपाईँ सुन्दै हुनुहुन्छः

मह बेचेर जीवन गुजारा चलाउँदै शाही

मुगु । छायाँनाथ रारा नगरपालिका–७  पिनाका सार्की शाही आफ्नो घरमुनिको बारी,घरको छत तथा जङ्गलका ओडारमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको १६ वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेको हुँ । यस पेसामा उहाँकी  श्रीमतीको भरपुर साथ र सहयोग पनि रहेको छ ।”

अहिले उहाँको मौरी फार्ममा १ सय घार मध्ये ५० जति मौरीसहितका घार छन् । बाख्रा पालनभन्दा मौरी पालनबाट राम्रो आम्दानी भएको उहाँले बताउनुभयो ।   कात्तिक र जेठ महिना गरी वर्षको दुई पटक घारबाट मह निकाल्न मिल्ने उहाँ बताउनु हुन्छ ।   वर्षमा २५० देखि ३ सय केजीसम्म मह उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम कतै नपाए पनि  यस कर्ममा लाग्दालाग्दै धेरै अनुभव बटुलेको उहाँ सुनाउनुहुन्छ । घरमा “रोजगारी नभए र घर खर्च धान्न र  बालबच्चा पढाउन आय स्रोतको कुनै विकल्प नभएपछि आफु बाध्य भएर व्यावसायिक मौरी पालनमा लागेको हुँ”, उहाँले भन्नुभयो । अहिले यसै पेसामा बानी समेत परिसकेको किसान शाही बताउनुहुन्छ  ।  

“उत्पादन भएको मौरीको मह बिक्रीका लागि बजार धाउनु पर्दैन, नेपालकै ठुलो रारा ताल घुम्नका  लागि आउने पर्यटकहरूलगायत कर्मचारी र स्थानीयहरू घरमै आएर खरिद गरेर लैजान्छन्”, उहाँले भन्नुभयो, “६०  वटा बाख्रा समेत पालेको थिएँ, तर बाख्रा पाल्न अलि धेरै समय खर्च हुनुका साधै हिउँ, मेग नभनी जङ्गल धाउनुपर्दा दुख बढी हुने भएकाले केही समयअघि सबै बाख्रा बेचिसके।” अहिले मौरी पालनलाई नै समय दिने गरेको र मौरी पालनमा चोखो आम्दानी पनि हुने गरेको उहाँ बताउनहुन्छ ।    

६ जनाको परिवार भएका किसान शाहीले यत्रो वर्षसम्म मौरीपालन व्यवसायमा लागे पनि कहीँ कतैबाट सहयोग भने नपाएको गुनासो गर्नुभयो । “मलाई तालिमको जरुरत त छैन बरु आवश्यक औजारको मात्र खाँचो छ ।” उहाँले भन्नुभयो । आधुनिक घारको लागि कतैबाट सहयोग नजुटेपछि परम्परागत काठबाट बनेका घारमा मौरीपालन गर्न बाध्य भएको उहाँ बताउनुहुन्छ । उहाँ मौरी पालनबाट उत्पादित मह प्रति माना रू १ हजार पाँच सयमा बिक्री हुँदा दङ्ग पर्नुभएको छ ।  

पछिल्लो समयमा फलफूल तथा तरकारी बारीमा किटनाशक औषधि प्रयोग गर्दा मौरीहरू धमाधम मर्न थालेकोले शाहीले बताउनुभयो । दैनिक रूपमा मौरी मर्दै जान थालेपछि यसलाई कसरी नियन्त्रण गर्ने होला भन्ने अन्योलमा उहाँ हुनुहुन्छ ।  कतैबाट चाहिने आवश्यक औजारहरूका साथै आर्थिक अनुदान मिलेमा मौरी पालनलाई अझै व्यवस्थित गर्दै लैजाने आफ्नो योजना भएको उहाँ सुनाउनुहुन्छ । 

हिमाली भेगमामा पाईने मौरीको मह विभिन्न रोगको औषधि हुने भएकाले मौरी पालनलाई व्यवस्थित गरी उत्पादन बढाउन युवाहरूलाई यसतर्फ आकर्षित गर्न सके रोजगारीका अवसरहरू सृजना हुने र आर्थिक समृद्धि हुने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button