मुलुक काँग्रेसकै नीतिअनुसार चलेको छ : उपसभापति खड्का
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक काँग्रेसकै नीतिअनुसार चलेको बताउनुभएको छ ।

आज नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा उहाँले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताउनुभयो । उहाँले आगामी महासमिति बैठकपछि पार्टीले थप ठूलो आशा र भरोसा जाग्ने गरि अभियान सुरु गर्ने जानकारी पनि दिनुभयो ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका उपसभापति खड्काले काँग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पङ्क्तिबिच खटपट हुने नदिने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधि र पार्टी पङ्क्ति मिलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बीचमा जान थप सहज हुने उहाँको भनाइ थियो ।

उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गर्नुभयो । उहाँले आम जनताको विश्वास नेपाली काँग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो ।
२०४६ सालपछि विकास निर्माणको ठूलो काम काँग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्याउन नसकिएको उहाँको भनाइ थियो । उहाँले पार्टी सुधार र रुपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्छ भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्