तपाईँ सुन्दै हुनुहुन्छः

दुई सातादेखि चलेको शीतलहरसंगै चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर

नेपालगञ्ज । दुई सातादेखि चलेको शीतलहरसंगै चिसो अत्यधिक बढेपछि बाँकेको जनजीवन कष्टकर बनेको छ । तापक्रम निरन्तर घट्दै जाँदा चिसो बढेर जनजीवन कष्टकर बनेको हो । दिनैभर चल्ने शीतलहरले तापक्रम निकै घटेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् ।

अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारीमा काम गर्नेहरू बढी मारमा परेका छन् । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायत रोगका बिरामी बढेका हुन् । चिसोले भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी बढेको भेरी अस्पतालका सूचना अधिकारी एवम् फिजिसियन डा. सङ्केत रिसालले बताउनुभयो । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज लगायतका अस्पतालमा बिरामी भरिभराउ छन् ।

चिसो बढेपछि बाँकेमा सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका लगायत स्थानीय सरकारले दाउरा वितरण गरेर सार्वजनिक ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएका छन् । चिसो अत्यधिक बढेपछि विद्यालयहरूमा जाडो बिदा दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका, राप्तीसोनारी गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button