तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता हुँदै

बाँके । बाँकेको नेपालगन्जमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० आयोजना हुने भएको छ । 

ब्याडमिन्टन संघ बाँकेको आयोजनामा यही माघ ११ गतेदेखि १३ गतेसम्म प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० आयोजना हुने भएको हो ।

नेपालगन्जमा खुल्ला तथा पुरुष एकल, पुरुष डबल, पुरुष डबल बि लेभल, महिला एकल, भेट्ररान्स ४५ प्लस ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

नेपालगन्जमा झन्डै २३ वर्षपछि राष्ट्रिय स्तरमा सञ्चालन हुन लागेको ब्याडमिन्टन प्रतियोगितामा १ सय ५० जना बढी खेलाडीहरूको सहभागिता रहने ब्याडमिन्टन संघ बाँकेका अध्यक्ष संजय थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेल प्रेमी तथा अभिभावकहरूमा खेलप्रति रुचि र आर्कषण बढाउन ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।

उहाँले मनोरञ्जनको साधन मानिसको हात हातमा पुगेकोले खेल प्रतिको आर्कषण घट्दै गएको बताउँदै खेलले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउने भएकोले खेलप्रति रुचि बढाउन आवश्यक रहेको बताउनुभयो ।

पाँच वटा विद्यामा राखिएको ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष एकल र पुरुष डबलतर्फ प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु २५ हजार, तृतीय पुरस्कार रु १५ हजार, सान्त्वना पुरस्कार रु १५ हजार रहेको छ ।

महिला एकलतर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको छ । 

यस्तै बि लेभल पुरुष डबल र भेन्ट्ररान्स ४५ प्लसतर्फ प्रथम पुरस्कार रु ३० हजार, द्वितीय पुरस्कार रु २० हजार, तृतीय पुरस्कार रु १० हजार, सान्त्वना पुरस्कार रु १० हजार रहेको आयोजकले जनाएको छ । 

तीन दिनसम्म सञ्चालन हुने ब्याडमिन्टन प्रतियोगिता नेपालगन्जमा रहेको रंगशालाको कभर्ड हलमा हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button