तपाईँ सुन्दै हुनुहुन्छः

बादर नियन्त्रण सम्बन्धी तालिमका लागि पशु चिकित्सक र स्काउटको टोली भारत पठाउने

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषकहरुको बाली नष्ट गर्ने बादर नियन्त्रण गर्न १० जना पशु चिकित्सक र ५ जना स्काउटको टोली गरी १५ जनालाई तालिमका लागि भारत पठाउने निर्णय गरेको छ ।

सिंहदरवारमा आज बसेको समितिको बैठकमा सभापति आरजु राणा देउवाले १५ जनाको टोलीलाई बादर नियन्त्रण तालिममा भारतको हिमाञ्चल प्रदेशमा पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले खाद्य स्वच्छता तथा गुणस्तर विद्येयक २०७७ माथि मन्त्रालयको धारणा राख्नुभयो ।

समितिको बैठकमा मन्त्री भुसालले विश्वमा खाद्य संकट बढिरहेका बेला नेपालले आफ्ना कृषि उत्पादन बढाउदै आयात प्रतिस्थापन गर्न बगिरहेको पानी, बाँझो जमिन, प्राङ्गरिक मलको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भुसालले नेपालले गत वर्षको तुलनामा यो वर्ष ४ दशमलव ३३ प्रतिशत बढी धान उत्पादन गरेको जानकारी दिँदै समयमा नै मल वितरण र आकाशको पानी पनि समयमा नै परेकाले उत्पादन बढेको बताउनुभयो ।

मन्त्री भुसालले कृषिमा प्राविधिक जनशक्तिको विकास, बजेटमा कृषिलाई ५ प्रतिशत छुट्टयाउनुपर्ने, सिंचाईको सुविधा बढाउन सके नेपाल खाद्य तथा नगदेवालीमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसदहरुले बैठकमा जमिन र कृषक दुवैको वर्गीकरण हुनुपर्ने, पहाडमा कृषि जनशक्तिको अभाव भएको, प्रांगारिक मलको पनि प्रयोग बढाउनुपर्ने, नगदेवालीको बजार व्यवस्थापन गर्नुपर्ने, फलफुल र तरकारी विषादीरहित बनाउन अनुगमन गर्नुपर्ने लगायतका विषयमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

कृषि गणना २०७८/७९ को तथ्यांक अनुसार ३० लाख ९१ लाख हेक्टर जमिन मध्ये १४ लाख ७७ हजार हेक्टर जमिनमा धान उत्पादन हुने, १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँजो भएको, तराईमा १७ प्रतिशत मात्र सिंचाई पुगेको र बाँकी आकाशको पानीमा भर पर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button