आवासीय चिकित्सक दाहालको निलम्बन तत्काल फुकुवा गर्न निर्देशन
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राइले काठमाडौँ मेडिकल कलेजले निलम्बन गरेका आवासीय चिकित्सक डाक्टर विशद दाहालको निलम्बन तत्काल फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँ विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री राइले डाक्टर दाहालमाथिको निलम्बन फुकुवा गरी विश्वविद्यालयले तयार गर्ने मापदण्ड जारी भएपछि मात्रै आवासीय चिकित्सकहरूलाई स्वास्थ्य शिविरमा पठाउन निर्देशन दिनुभएको मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकलाई जानकारी गराउनुभयो ।
काठमाडौँ मेडिकल कलेजले खटाइएको शिविरमा नगएको भन्दै आवासीय चिकित्सक दाहाललाई निलम्बन गरेपछि यो विषय संसदीय समितिमा पनि उठेको थियो ।
आजै संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय परीक्षा बोर्डका अस्थायी, करार र ज्यालादारी कर्मचारी, नेपाल आदिवासी जनजाति महासङ्घ, राष्ट्रिय अभिभावक महासङ्घ, विशेष शिक्षा, अनौपचारिक शिक्षा तथा गुठी शिक्षाका प्रतिनिधिसँग शिक्षा विधेयकमाथि सुझाव लिएको छ ।
बैठकमा ती संस्थाका प्रतिनिधिहरूले परम्परागत ज्ञानको शिक्षालाई नयाँ शिक्षा ऐनले समेट्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्