भेडापालनमा चार पुस्ता

म्याग्दी । म्याग्दीमा पुर्खाले सुरु गरेका भेडा बाख्राका गोठहरू नयाँ पुस्ताले छोड्ने क्रम बढेको छ। वैदेशिक रोजगारी लगायत अन्य पेशाले गर्दा पुर्खाले जीविकोपार्जनका लागि सुरु गरेका परम्परागत शैलीको घुम्ती गोठलाई नयाँ पुस्ताले निरन्तरता दिनेक्रम कम हुँदै गएको छ।
पुर्खाले सुरु गरेको भेडाबाख्राको घुम्ती गोठलाई रघुगंगा गाउँपालिका– २ भगवतीका नन्दबहादुर भण्डारीले निरन्तरता दिँदै आउनुभएको छ । चार पुस्तादेखिको व्यावसायिक भेडाबाख्रा गोठको इतिहास एकसय १२ बर्ष पुगेको छ । महाविरले सुरु गरेको भेडागोठ रोहितबहादुर, नन्दबहादुर हुँदै रामकृष्ण भण्डारीको हातमा आइपुग्दा जिल्लाकै सबै भन्दा ठुलो भेडाबाख्रा गोठ बनाउन सफल भएका छन् । महाविरबाट सुरु भएको गोठ रोहित हुँदै नन्दबहादुर निरन्तरता दिएका थिए । नन्दबहादुर भण्डारीलाई अहिले उहाँका जेठा छोरा रामकृष्णले साथ दिएका छन् । ६६ बर्ष पुगेका नन्दबहादुरले ५३ बर्ष भेडीगोठमा बिताउनुभएका छ। उहाँ अहिले पनि भेडाबाख्राको हेरचाहमा खटिराख्नुभएको छ।
उहाँको गोठमा अहिले आठसय भेडाबाख्रा छन् । यो भेडा बाख्रोका सङ्ख्या सिजन अनुसार तलमाथि भइरहन्छ । हिमाली भेगेको जाडो छल्न बेसी झरेको भण्डारीको गोठ रघुगंगा गाउँपालिका–१ वेगमा रहेको छ । पशुको वृद्धि र विकासमा चाहिने आहार पु¥याउन हिउँदमा बेसी झर्ने र बर्खाको समयमा हिमाली क्षेत्रमा भेडा गोठलाई लगिने प्रचलन रहेको नन्दबहादुर भण्डारीले बताउनुभयो । उहाँको गोठमा आठसय भेडाबाख्रा चरण क्षेत्रमा रेखदेख गर्नका लागि आफूसँगै पाँचजना गोठाला, चारवटा कुकुर पनि पालेको जानकारी दिनुभयो ‘भेडा पालनबाट चारपुस्ताको घरखर्च चलेको छ, भेडाको आहार पु¥याउन चरण क्षेत्रमा बढी खट्नुपर्छ, भेडाबाख्रा पालनमा कहिले ठुलो गोठ बन्छ, कहिले सानो गोठ बन्छ, वर्षभरिको दुख केही सिजनमा भेडाको साड, खसी र बोका बिक्रीबाट हुने आम्दानीले घरखर्च, गोठालालाई तलव गर्दा ठिक्क हुन्छ’, –उहाँले भन्नुभयो । ‘चार पुस्तासम्मको मुख्य सारथी कुकुर भएको छ, गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जङ्गली जनावरको आक्रमणलाई रोक्न कुकुरले जानकारी गराउने गर्छ, रात वा दिनमा भेडा गोठालो र भेडाबाख्रालाई जोगाउने जिम्मा कुकुरको हुन्छ, कुकुर सुते पनि चरन क्षेत्र वा गोठ वरिपरि आउने बस्तुहरू गन्धले थाहा पाएपछि भुकेर सुरक्षा दिने गर्दछ।’

घुम्ती चरण गर्दा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँदा बाटोमा, विभिन्न अनकन्टार हिमालको फेदीमा चरणका लागि लगेपनि कुकुर विना भेडागोठ जोगाउन ग्राहो हुन्छ । ‘चरण क्षेत्र जङ्गल हो, जङ्गलमा बाघ, भालु र चितुवाबाट जोगाउनुपर्छ, म्याग्दीमा भेडा पालनको मुख्य हतियार कुकुरलाई मानिन्छ,’– उहाँले भन्नुभयो, ‘कुकुरले जङ्गली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरूलाई सङ्केत गर्ने काम गर्छ।’
ठुलो गोठ हुँदा चरीचरणमा घाँसको अभाव हुने भण्डारीले बताउनुभयो। घुम्ती गोठमार्फत भेडापालन गर्दै आएका कृषकलाई चरीचरण क्षेत्रमा नजाती (पशुपन्छीले नखाने) घाँस उम्रने फैलने क्रम बढ्दो छ, प्राप्त आहार पुर्याउन सकिएन भने राम्रो आम्दानी गर्न ग्राहो हुन्छ, ठुलो गोठमा हिउँदको समयमा आहारा पु¥याउन चिन्ता हुन्छ ।







प्रतिक्रिया राख्नुहोस्