तपाईँ सुन्दै हुनुहुन्छः

निगाले सिमेन्ट उद्योग बन्द

धनकुटा । आर्थिक सङ्कटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठूलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ ।  

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो। दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो। उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जना भन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् । 

आर्थिक सङ्कटकै कारण उद्योगले दैनिक लाखौँ रुपैयाँ घाटासमेत बेहोर्नुपरेको परेको छ। उद्योग गलत ठाउँमा खुलेका कारण सुरुवाती देखि नै चिसोका कारणका तीन सय टन उत्पादन क्षमता रहेको उद्योगले दैनिक एक सय ५० टन मात्रै उत्पादन गर्दै आएको कर्मचारी सरोज सेढाँइले जानकारी दिनुभयो । 

कोभिडले थला पारेपछि सुरु भएको आर्थिक मन्दीका कारण भारतको विभिन्न क्षेत्रबाट आउने कोइला, बक्साइट, लेटराइट, जिप्समलगायतको कच्चा पदार्थको मूल्य अत्यधिक बढ्नु र सिमेन्ट बिक्री ठप्प हुँदा उद्योग बन्द भएको हो । उद्योग सञ्चालन हुँदा कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर तथा सङ्खुवासभाको सिमेन्टको ८० प्रतिशत माग धान्दै आएको थियो । 

यता उद्योगले जरिवाना बाहेक १४ करोड १८ लाख ३३ हजार ९ सय १० रुपैयाँ विद्युत् महशुल तिर्न बाँकी रहेपछि विद्युत् प्राधिकरण धनकुटाले लाइन काटेको छ। धनकुटामा निगाले सिमेन्ट सहित साना र मझौला उद्योग आर्थिक सङ्कटको कारण धमाधम बन्द भइरहेको र सञ्चालनको लागि तीनै तहको सरकारले पहल गर्नुपर्ने धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button