तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको एक मदरसामा १८ लाख भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको एक मदरसाका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका तत्कालीन प्रधानाध्यापक कलिम अहमद जोलाहाले आर्थिक बर्ष २०७०र७१ देखि व्यवस्थापन समिति अध्यक्ष बदरुददुजा खाँसंगको मिलेमतोमा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । प्रधानाध्यापक जोलाहाले अध्यक्ष खाँसंग मिलेर तलबभत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकको १८ लाख ३ हजार ७ सय ४१ रुपैयाँ खर्च गरी अनियमितता गरेको अख्तियारको ठहर छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन प्रधानाध्यापक जोलाहाले साविक जिल्ला शिक्षा कार्यालय बाँकेबाट आर्थिक बर्ष २०७०/७१ देखि २०७४/७५ सम्म विभिन्न शीर्षकको रकम खर्च नगरी हिनामिना गरेका थिए । साथै उनको नाममा लेखा परीक्षण प्रतिवेदनले पेश्की बेरुजु औँल्याएको रकम समेत सम्बन्धित शीर्षकमा खर्च गर्नुपर्नेमा अध्यक्ष खाँसंग मिलेर आफूखुसी खर्च गरेका थिए । उनले प्रधानाध्यापकको हैसियतले आफ्नो जिम्मामा रहेका सक्कल कागजातहरू बरबुझारथ नगरी लुकाएको, नोक्सान पुर्याएको वा नष्ट गरेको पुष्टि भएको अख्तियार प्रवक्ता घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगो १८ लाख ३ हजार ७ सय ४१ रुपैयाँसहित ऐनमा उल्लेख भए बमोजिम कैद माग दाबी गरी विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button