बजेट अभावले खानेपानी योजना अलपत्र

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा बजेट अभावले खानेपानी योजनाहरू अलपत्र परेका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ मा निर्माण शुरु गरिएका योजनाहरूले अझैसम्म पनि पूर्णता पाउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका योजनाहरू बजेट अभावकै कारण अलपत्र परेका हुन् ।
नवलपुरमा विभिन्न शीर्षकमा एक सय एक वटा आयोजना सञ्चालनमा रहेका छन् । यहाँ चालु आर्थिक वर्षका लागि १८ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा अधिकतम ४ करोड रुपैयाँदेखि न्यूनतम ८० हजार रुपैयाँ सम्मका योजनाहरू सञ्चालनमा छन् ।
गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ भन्ने नीति अनुरूप जिल्लामा सुरु भएका योजनाहरूमा पर्याप्त बजेट नहुँदा काम सम्पन्न हुन सकेको छैन । ढोडेनी खानेपानी योजना, झ्याल्टुङ्ग डाँडा खानेपानी योजना, भागर खानेपानी योजना लगायतका आयोजना सम्पन्न हुन सकेका छैनन् ।
बजेट अभाव र निर्माणको जिम्मा पाएको ठेकेदारको लापरबाहीका कारण खानेपानी योजना सम्पन्न हुन नसकेको झ्याल्टुङ्ग डाँडा खानेपानी योजना, मध्यविन्दु –१०,का अध्यक्ष हेमबहादुर थापाले बताउनुभयो । करिब दुई सय घर परिवारलाई खानेपानीको व्यवस्थाका लागि पाँच वर्ष अघि सुरु भएको योजना पुरा हुन नसकेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७६÷०७७ मा काम सुरु भएका योजनाहरू डेढगाउँ, कावासोती डिग्री कलेज, कावासोती –१७, अग्यौली, वौनाहा, आपचौर, मैनाघाट, देवचुली, अमरापुरी खानेपानी योजनाहरू सञ्चालनमा आउन सकेका छैनन् ।
नवलपुरमा सञ्चालित अन्य योजनामा जिल्ला अस्पताल, आरुङ्गखोला, कावासोती, मगरकोटका खानेपानी योजना समेत बजेट अभावले सम्पन्न हुन सकेका छैनन् ।
गण्डकी प्रदेश सरकारमार्फत शुरु भएको खानेपानी योजनाका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा सम्पन्न गर्न समस्या परेको कावासोती –१७, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण ढुङ्गानाले बताउनुभयो ।
धेरै लागत अनुमान रहेका योजनाहरूमा न्यून बजेट विनियोजन हुँदा पनि योजना सम्पन्न हुन धेरै समय लाग्ने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इकाई कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनुभयो ।
ओभरहेड ट्याङ्की बनाउनुपर्ने योजनाहरू न्यून बजेट विनियोजन भएका कारणले अघि बढाउन मुस्किल रहेको खानेपानी इकाई नवलपुरका प्रमुख आचार्यले बताउनुभयो । पुराना कतिपय योजनाहरू बजेट अभावका कारणले आफूहरूले अगाडि बढाउन नसकेको उहाँले बताउनुभयो । निर्माणका चरणमा रहेका योजना सम्पन्न गराउन आवश्यक बजेटका लागि आफूहरूले मन्त्रालयमा पहल गरिरहेको उहाँको भनाई छ ।
जिल्लामा सञ्चालित महत्त्वपूर्ण खानेपानी योजनाहरू लामो समयसम्म सम्पन्न नहुँदा उपभोक्ताहरू पनि मरमा परेका छन् ।






प्रतिक्रिया राख्नुहोस्