कार्यतालिका बनाएर काम गर्न मन्त्री शर्माको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यतालिका बनाएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम कार्यान्वयनको प्रगति समीक्षाका सम्बन्धमा छलफल गर्न आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री शर्माले कार्यतालिका बनाएर आफूले गरेको कामका सम्बन्धमा प्रत्येक महिना मन्त्रालयलाई जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

मन्त्री शर्माले कार्यशैली र पद्धतिमा सुधार गर्दै नतिजामुखी काम गर्नु आजको आवश्यकता भएकोले कुनै पनि बहाना बनाएर कामबाट उम्किन खोज्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले मातहतका निकायको कार्यसम्पादनको अङ्क दिने व्यवस्था गर्नुपर्ने भन्नुहुँदै लक्ष्य निर्धारण गर्दा कार्यान्वयनयोग्य लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले अन्वेषण, नवप्रवर्तन र रोजगारी अभिवृद्धिमा सरकार केन्द्रित रहेकोले यसका लागि सबैको सार्थक पहल आवश्यक पर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले माइल स्टोन, बजेट खर्च, समयसीमा र कार्यप्रगतिबीच तादात्म्य खोज्नुपर्ने बताउनुभयो ।

सचिव राउतले काम गर्दा आयोजना पक्ष, प्रशासन र आर्थिक पक्षलाई समेत ख्याल गरी लक्ष्य प्राप्तिमा कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले कम खर्चमा हुने कार्य र खर्च नहुने कार्यहरू वर्गीकरण गरी कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
सहभागी सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरूले आर्थिक मन्दी, कानुनी अड्चन, बजेटको अभाव लगायतका कारण कतिपय लक्ष्यहरू प्राप्त गर्न नसकिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्