सुशासनका लागि आफू प्रतिबद्ध : प्रधानमन्त्री
दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले दह्रोसँग खुट्टा टेकेकै कारण मुलुकको प्रधानमन्त्री बनेको बताउनुभएको छ ।
शुक्रवार बृहत् दोलखा महोत्सव– २०८० को उद्घाटन गर्न सदरमुकाम चरिकोट आउनुभएका प्रधानमन्त्री दाहालले अहिले सुशासनको काम गर्दा पनि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा पूर्ण सुधार भयो भन्ने अवस्था नरहे पनि विगतको तुलनामा निक्कै राम्रो भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले सबैले थोरै बल गर्ने हो भने मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्कन सक्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले दोलखाको तामाकोशी करिडोर हुँदै अघि बढेको चीन र भारत जोड्ने सडकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै दोलखामा फिल्म सिटी निर्माण गर्ने कुरामा समेत आफूले सकारात्मक काम गरिरहेको जनाउनुभयो ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङ, नेपाली कांग्रेसको केन्द्रीय सदस्य जीपछिरीङ लामा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै सुरु भएको बृहत् दोलखा महोत्सव– २०८० आगामी पुष २२ गतेसम्म सञ्चालन हुने सचिव प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्