धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागलाई लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।
समितिको आज बैठकले धितोपत्र बोर्डका अध्यक्ष हमालले आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रुपमा विभिन्न कम्पनीहरूलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर ल्याउन अनुमति दिएर गैर जिम्मेवार रुपमा कार्य गरेको भन्दै हमालको सम्पत्ति छानविन गर्न र ३० दिनभित्र सो सम्बन्धी विवरण समिति उपलब्ध गराउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।
समितिले विगत ३ वर्ष भित्र प्रिमियम मूल्यमा शेयर निष्कासन गर्ने सबै आईपीओको औचित्य र मूल्याङ्कनको सम्बन्धमा छानबिन गर्न, छानबिनका क्रममा दोषी देखिएका सम्बन्धित पदाधिकारीलाई कानुन बमोजिम कारवाहीको प्रक्रियामा लैजान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
लेखा समितिले प्रिमियम जारी भएका आईपीओका विषयमा छलफल गर्न बोर्डका अध्यक्ष हमाललाई बोलाए पनि आज उहाँ उपस्थिति नभएपछि विना सूचना र जानकारी अनुपस्थित भएको र आगामी दिनमा समेत सार्वजनिक जबाफदेहिता कायम गर्ने नदेखिएको भन्दै समितिले खेद प्रकट गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी गराउनुभयो ।
छलफलमा सांसदहरुले धितोपत्र बोर्डले आफूखुसी नियमावली नै परिवर्तन गरेर विभिन्न कम्पनीलाई आइपीओको प्रिमियम निष्कासन गर्न अनुमति दिएको, बोर्डले वित्तीय साक्षरताका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको, लगानी कर्ताको लगानी सुरक्षित गर्न नसकिएको विषय उठाउनु भएको थियो ।
छलफलमा अर्थमन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरे, बैठकमा धितो पत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कम्पनी रजिष्टार कार्यालयका रजिष्ट्रार दिपक कुमार पहाडी लगायतको उपस्थित हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्