नेपालगञ्जमा मेट्रिक घर नम्बर प्रणाली शुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१२ विपी चोकमा ‘विपी मार्ग’ रोड नेम प्लेटको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रशान्त बिष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गर्नुभएको हो ।
रोड नेम प्लेटको उद्घाटनपछि नगर प्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गर्नुभएको थियो ।
पहिलो चरणमा वडा नम्बर १२ का ५० वटा घरमा नमुनाका रुपमा नम्बर प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले बताउनुभयो । पहिलो चरणमा नमुनाका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको बताउँदै दासले १ देखि २३ नम्बर वडाका सबै घरलाई मेट्रिक घर नम्बर प्रणाली जोड्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उक्त कार्यका लागि चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

यो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर (दुरी)का हिसाबले घरमा नम्बरिङ्ग गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दुरी (मिटर) मा घर अवस्थित छ, त्यत्ति नै नम्बर उक्त घरलाई दिइन्छ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर बिजोर नम्बर राखिने दासले जानकारी दिनुभयो । मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बर लगायत सामाजिक–आर्थिक तथ्याङ्क प्रविष्ट गरिएको हुन्छ । “नमुनाका रुपमा जिआइजेडले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात् दोस्रो चरणमा नम्बर प्लेट राख्छौँ ”, इन्जिनियर दासले भन्नुभयो,“यो प्रणाली सुरु भएपछि नागरिक(सेवाग्राही)को घर÷घर जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।”
नेपालगन्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । हाललाई कौशल्या मार्ग,विपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शितलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड नामका रोड नेम प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख विष्टले नगरलाई डिजिटलाइज गर्ने अभियानमा लागिपरेको बताउँदै नागरिक(स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागू गरिएको उल्लेख गर्नुभयो ।
नगरको एकीकृत दिगो विकास र संवृद्धिका लागि उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको भन्दै उहाँले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने बताउनुभयो ।
उपप्रमुख राईले यसबाट हरेक घरको जानकारी उपमहानगरपालिकालाई हुने हुँदा सहज हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्य, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेई (विवेक), इन्जिनियर दासलगायत उपस्थिति हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्