नागरिकलाई शान्ति सुरक्षाको महशुस गराउनु प्रहरीको दायित्व : महानिरीक्षक कुँवर

बाजुरा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी जनताको सेवा र शान्ति सुरक्षामा सदैव प्रतिबद्ध र इमान्दार हुनु पर्नेमा जोड दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटनका लागि बाजुरा पुग्नुभएका प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुव्यवस्था विना देशको विकास र समृद्धिको आधार नै निर्माण गर्न नसकिने बताउनुभयो ।
बाजुरामा निर्माण गरिएको प्रहरीको प्रशासनिक भवन, ब्यारेक, हिरासत, निवास तथा मेस घरहरूको प्रहरी कार्यालय परिसरमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममा महानिरीक्षक कुँवरले प्रहरीले दिने सेवा प्रवाहमा समेत सुधार हुनुपर्ने बताउनुभयो।
उहाँले सुरक्षित र सुविधा सम्पन्न भवन निर्माणले प्रहरीको मनोबल बढ्नुका साथै ऊर्जा र हौसला थपिएको भन्नुहुँदै प्रहरीले भवन उद्घाटनसँगै जिम्मेवारी र दायित्व बढेको महशुस गर्नुपर्नेमा जोड दिनुभयो।
“‘मेरो निर्देशन छ, जनताको सेवा, देशको रक्षा, अपराधीलाई, कानुनको कार्यान्वयन र देश समृद्धिको यात्रामा प्रहरी इमान्दार पूर्वक सहयोगी बन्नुपर्छ”, महानिरीक्षक कुँवरले भन्नुभयो ।

“नयाँ भवनले चुनौती र जिम्मेवारी अझै बढेको छ । बढी मेहनत र जिम्मेवार हुन जरुरी देखिन्छ । प्रहरीका लागि भवन मात्रै राम्रो सुविधा सम्पन्न भएर हुँदैन बस्ने संरचना जस्तै शान्ति सुरक्षा र जनसेवामा पनि प्रहरी अब्बल हुनुपर्छ”, उहाँले भन्नुभयो ।
प्रत्येक नागरिकलाई शान्ति सुरक्षाको महशुस गराउनु प्रहरीको दायित्व हो भन्नुहुँदै उहाँले प्रहरीको अधिकारका लागि प्रहरी प्रधान कार्यालय नक्साल प्रतिबद्ध र जिम्मेवार हुनेमा विश्वस्त हुन पनि आग्रह गर्नुभयो ।
उहाँले निष्ठा, इमान र जिम्मेवारी निर्बिसी दूर दराजका नागरिकलाई सेवा दिन कुनै कसुर बाँकी नराख्न र व्यक्तिगत लाभभन्दा माथि कर्तव्य निष्ठा र इमानलाई कायम राख्न निर्देशन समेत दिनुभयो ।
महानिरीक्षक कुँवरले प्रहरीका लागि बनेका संरचना सबैका साझा र समुदायका पनि सम्पत्ति भएकोले यसलाई सुरक्षित राख्न र अपनत्व सहितको दायित्व बोध गर्न सबैलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्