तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा अङ्ग्रेजी नयाँ वर्षमा सडक खाना महोत्सव हुने 

भैरहवा । लुम्बिनी होटेल संघ नेपालको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा सडक खाना महोत्सव हुने भएको छ । 

लुम्बिनीमा हुने सडक खाना महोत्सवमा स्थानीय खानपिनका परिकार साथसाथै अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, म्यानमार, श्रीलङ्का आदि देशका परिकारहरू समेत रहने लुम्बिनी होटल संघ नेपालका गोविन्द ज्ञवालीले बताउनुभयो ।

“यस बर्ष लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरूको समेतको सहभागितामा विविध अन्तर्राष्ट्रिय परिकार राख्छौँ”, ज्ञवालीले भन्नुभयो, “स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराइका ब्राह्मण समुदाय, नेवारी समुदाय, गुरुङ मगर समुदाय, पाल्पाको झिनिया रोटी, यश क्षेत्रकै नामि मिठाई इमृती लगायतका खाने कुरा सडक महोत्सवमा रहने छन् ।” 

महोत्सवमा सहभागी अतिथिहरूलाई लुम्बिनी होटल सङ्घले पुस १६ गतेका दिन होटल कोठामा १५ प्रतिशत छुटमा उपलब्ध गराउने भएको छ । 

लुम्बिनी सांस्कृतिक महोत्सव तथा दशौं सडक खाना महोत्सवमा सडकमै विभिन्न जातजातिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र प्रचलित खानाका परिकारहरू, महोत्सवमा सांस्कृतिक सुगन्ध, साङ्गीतिक साँझ, लुम्बिनीको विशेष उपहार उपलब्ध हुने लुम्बिनी होटल संघ नेपालका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिनुभयो । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले सडक खाना महोत्सवले लुम्बिनीको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । 

महोत्सवको लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी बिकास कोष, लुम्बिनी पर्यटन बिकास परिषद् लगायतका संघ संस्था आयोजक रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button