पर्सा ११ आर्मीसँग ६६ रनले पराजित
वीरगञ्ज । वीरगन्जको नारायणी रङ्गशालामा जारी प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएकोको दोस्रो खेलमा नेपाल आर्मीले पर्सा ११ लाई ६६ रनले पराजित गरेको छ । राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा आर्मी तीन खेलमा ६ अङ्क हासिल गरी शीर्ष स्थानमा पुगेको छ ।
आर्मीको जितमा कुशल मल्लको भूमिका प्रमुख रह्यो । ब्याटिङतर्फ ३९ बलमै पाँच चौका र चार छक्काको मद्दतमा ६३ रन बनाएका कुशलले पछि बलिङतर्फ पनि महत्वपूर्ण दुई विकेट लिए । अलराउन्डर कुशल मल्लको प्रदर्शनको कारण त्रिभुवन आर्मी क्लबले प्रो क्लब टि२० च्याम्पियनसिपमा पर्सा क्लब ११ लाई ६६ रनले हराएको छ ।

आर्मीले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको पर्सा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो । पर्साका कप्तान सन्दीप लामिछाने ३४ बलमा एक चौका र एक छक्का प्रहार गरी ३२ रनमा अविजित रहे । उनी नै टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी बने ।
पर्साका ओपनर इमरान शेख १८, अनिल साह शून्य र हसिम हन्सारीले १३ रन मात्र बनाएपछि पर्सा ११ का लागि आर्मीले दिएको लक्ष्य पहाडजस्तै बनेको थियो ।
पर्सा ११ लाई रोक्ने क्रममा उत्कृष्ट फर्मलाई निरन्तरता दिएका बसिर अहमदले पनि चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिए । शानदार फर्ममा रहेका साहब आलमले चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए । चार ओभर नै बलिङ गरेका कुशलले एक मेडनसहित जम्मा १५ रन दिएर महत्वपूर्ण दुई विकेट लिए भने राजेश पुलामीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पर्सा ११ ले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रनको विशाल स्कोर खडा गर्यो ।
कुशलको ६३ रनका अलावा कप्तान विनोद भण्डारीले २६, सन्तोष कार्कीले १६, रोहित पौडेलले १३ रनको योगदान दिए । विवेक यादवले १२, सन्दीप रजालीले सात, राजेश पुलामीले नौ तथा भीम सार्कीले तीन रन बनाए ।
पर्साका कप्तान सन्दीपले चार ओभरमा २५ रन खर्चेर जम्मा एक विकेट लिए भने नशरुद्धि अन्सारी, रन्जितकुमार, रुपेश सिंह र पवन सरार्फले पनि एक–एक विकेट लिए ।
प्रतियोगितामा नेपालका तीन विभागीय, पर्सासँगै दुई भारतीय क्लब नोएडा र उत्तर प्रदेश छन् । यस अघि आजको पहिलो खेल नेपाल पुलिसले सशस्त्र प्रहरीलाई ८९ रन फराकिलो अन्तरले हराएको थियो । खेलमा सशस्त्र लक्ष्य पूरा गर्नुअगावै १३.२ बलमा ५१ रनमै अलआउट भएपछि पुलिसले ८९ रनले जितेको हो ।








प्रतिक्रिया राख्नुहोस्