तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा हुने टाइगर कप भलिबल प्रतियोगितामा दुई विदेशी टिम सहभागी हुने 

पोखरा । पोखरामा हुने चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० अन्तर्गत पुरुष तथा महिला ६÷६ टिमको सहभागिता हुने भएको छ । 

माघको पहिलो साता हुने उक्त प्रतियोगितामा पुरुषतर्फ श्रीलङ्काको आर्मी टिम र महिलातर्फ भने भारतको हरियाणा पुलिस क्लब सहभागी हुने भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले बताउनुभयो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब स्तरीय महिला तथा पुरुष उक्त प्रतियोगितामा गण्डकी प्रदेशले महिला तथा पुरुषतर्फ सहभागी हुने भएको छ । 

त्यसैगरी, नेपालका तीन विभागीय टोली नेपाल पुलिस, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला तथा पुरुषतर्फ सहभागी हुने भएका छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब सहभागी हुने भएको छ भने महिलातर्फ न्यू डायमण्ड युथ स्पोट्र्स क्लब सहभागी हुने भएको अध्यक्ष शर्माले बताउनुभयो ।  

पोखरा रङ्गशालामा आउँदो माघ १ गतेदेखि ६ गतेसम्म लिगकम नकआउटका आधारमा हुने उक्त खेलमा विजेता टिम (पुरुष तथा महिला) लाई जनही ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । 

आयोजकले यस बर्ष पुरस्कार राशिमा केही वृद्धि गरेको हो । यस बर्ष प्रथम पुरस्कारमा ५० हजार वृद्धि गरेको हो । उपविजेता पुरुष तथा महिलाको टोलीले २ लाख ७७ हजार ७ सय ७७ र तेस्रो हुनेले १ लाख ४० हजार पुरस्कार प्राप्त गर्ने भएका छन् । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद २५/२५ हजार ५ सय ५५ अन्य विधागतमा उत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार प्रदान गरिने भएको छ । 

नेपाल भलिबल सङ्घको संयोजनमा पोखरा महानगरपालिका, राखेप, र प्रदेश खेलकुद परिषद् गण्डकीको विशेष सहयोगमा उक्त प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक दीपक कार्कीले बताउनुभयो । उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको संयोजक कार्कीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button