तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध हुलाकी सडक विस्तार योजनाले फेरि तीव्रता पायो

बीरगंज । तराईको लाइफ लाईनको रूपमा रहेको हुलाकी सडक विस्तार योजनाले फेरि तीव्रता पाएको छ । 

पर्साको ठोरीदेखि राष्ट्रिय निकुञ्ज हुँदै भरतपुरसम्म पुग्ने सडक खण्ड अन्तरगतका विभिन्न स्थानमा निर्माण कार्य अवरुद्ध भएपछि त्यस भेगका जनताले सास्ती भोग्दै आइरहेका थिए । 

हुलाकी सडक निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्जले अवरोध गरेपछि अब ठोरीबाट माडी हुँदै भरतपुर जोडने हुलाकी सडक ठोरी माडी खण्डको निकुञ्जभन्दा बाहिर ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको र सोही अनुसार अब काम अगाडी बढ्ने हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, विरगञ्जका प्रमुख दीपक झाले जानकारी दिनुभयो ।

ठोरीको चौताराबाट बफरजोन हुँदै भालु खोला, रिउ खोलाको किनारै किनार माडी बसपार्कमा निस्कने गरी सम्भाव्यता अध्ययन सम्पन्न भएको झाले बताउनुभयो । 

सम्भाव्यता अध्ययनसँगै रेखाङ्कन मन्त्रालयबाट स्वीकृतिका लागि पठाइएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृतपछि यस आर्थिक वर्षमा डिपिआर निर्माण गरी अर्को आर्थिक वर्षबाट सडक निर्माण कार्य अगाडी बढाइने योजना प्रमुख झाले बताउनुभयो । 

त्यसैगरी, हुलाकी सडक खण्डकै चितवनको रिउबाट राष्ट्रिय निकुञ्ज हुँदै राप्ती निस्कने ट्र्याक निर्माण गरी सकिएको र अब कसरामा नभई ध्रुव चेकपोष्टबाट हुलाकी सडकको ट्र्याक भरतपुर निस्कने जानकारी समेत झाले दिनुभयो ।

त्यसैगरी हुलाकी सडक खण्डको माडी क्षेत्रमा पर्ने घाँगर, भालु खोला, बगई र पतरे खोलाको पुल निर्माण यस आर्थिक वर्षमा सम्पन्न हुने गरी आजैबाट काम सुरु भएको समेत हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, विरगञ्जका प्रमुख झाले बताउनुभयो । 

विगतमा सपना लोहनी जेबीले पुल निर्माणको ठेक्का लिएको भए पनि अहिले लोहनीले ठेक्काबाट हात झिकेपछि सपना जेबीले पुल निर्माण सम्पन्न गर्ने गरी परियोजनाले निर्माणको जिम्मा लगाएसँगै पुल निर्माण कार्य समेत सुरु भइसकेको झाले बताउनुभयो । 

हुलाकी सडक निर्माणपछि बीरगंजबाट पर्साको ठोरी हुँदै चितवनको माडी र भरतपुरको यातायात दुरी समेत घटने छ । यसबाट पर्सा तथा चितवनका ग्रामीण क्षेत्रका लाखौँ स्थानीय बासिन्दा लाभान्वित हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button