१२ वर्षामा पनि बनेन तमोर पुल

पाँचथर । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुमुघाट स्थित तमोर नदीमा निर्माणाधीन पक्की पुल १२ वर्ष बित्ता पनि सम्पन्न हुन सकेको छैन ।
तेह्रथुमको म्याङलुङ नगरपालिका र पाँचथरको कुम्मायक गाउँपालिका ५ को बिचमा पर्ने तमोर नदीको पक्की पुल निर्माणका लागि वि.सं. २०६८ असार २६ गते स्वच्छन्द निर्माण सेवा कम्पनीसँग १३ करोडमा पुल निर्माणको सम्झौता भएको थियो । २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनी ५ पटक सम्म म्याद थपेर १२ वर्ष बितिसक्दा आधा मात्र काम भएको छ । पुल निर्माणले गति लिन नसकेकाले बन्न कति समय लाग्छ अझै केही टुङ्गो छैन । पुल निर्माणको काम अझै अलपत्र छ ।
पाँचथर सदरमुकाम फिदिमदेखि लुमुघाटसम्मको ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङदेखि लुमुघाटसम्मको १९ किलोमिटर सडक ६ वर्ष पहिले नै निर्माण सम्पन्न भइसकेको छ । पाँचथर र तेह्रथुमलाई द्रुत सडक मार्गबाट जोड्ने उद्देश्यले पुल निर्माणको काम सुरु भएको थियो । निर्धारित समयमा पुल निर्माण हुन नसक्दा सवारी आवागमन नहुनाले स्थानीयले ढुवानीको समस्या भोग्दै आएका छन् । । ३ मिटर चौडाइ र १ सय ५७ मिटर लम्बाइको उक्त पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवले जानकारी दिनुभयो ।
ठेक्का सम्झौता गरे पश्चात् सामानको अभाव, कोरोना, बजेटको समस्या तथा भौगोलिक विकटताको कारण निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका इन्जिनियर अजय लामिछानेको भनाइ छ । हाल निर्माण कार्य द्रुत गतिमा अघि बढेर ७५ प्रतिशत काम सम्पन्न भइसकेको र आगामी चैत्रसम्ममा निर्माण सम्पन्न गर्ने इन्जिनियर लामिछानेको दाबी छ ।







प्रतिक्रिया राख्नुहोस्