लगानी गरेर काम गर्न डराउनुपर्ने अवस्था छैन : अर्थमन्त्री महत

मकवानपुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले देशमा लगानी गरेर काम गर्न डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको मङ्गलवार हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले अब आर्थिक क्षेत्र सुध्रिएकाले यही लगानी गरेर काम गर्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री महतले अहिलेको अवस्थामा निरास हुनुपर्ने कुनैपनि कारण नभएकाले अब निर्धक्कसँग लगानी गरेर आर्थिक गतिविधि गर्न आग्रह गर्नुभयो । अब देशमै काम गर्न सहज भइसकेको भन्दै उहाँले भन्नुभयो–“अर्थतन्त्रमा सुधार आएकाले जग्गा कारोबारमा पनि सुधार आएको छ । शेयर मार्केट पनि बढेको छ । पर्यटन क्षेत्रमा पनि निकै सुधार आएको छ । अब लगानी गरेर काम गर्न डराउनुपर्ने अवस्था छैन ।” देशमा धेरै खालका समस्या भएपनि सरकारमा बसेर आफूहरूले राम्रो काम गरेको अर्थमन्त्री महतको दाबी छ ।
कांग्रेस मकवानपुरको सम्मेलनमा मकवानपुर जिल्लाको दुई संघीय निर्वाचन क्षेत्र २ वटा प्रदेश निर्वाचन क्षेत्र ४ वटा, १० वटा पालिका र १०२ वटा वडाबाट गरी करिब २ हजार प्रतिनिधि उपस्थिति रहेका छन् । सम्मेलनमा जिल्लाको सङ्गठनात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रित रहेर छलफल तथा बहस हुने बताइएको छ । सम्मेलनले जिल्लमा पार्टी सङ्गठन बिस्तारका लागी आगामी कार्ययोजना, रणनीति र एजेण्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्