‘एमालेले असाधारण काम गर्न सक्छ’
पाँचथर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफू नेतृत्वको पार्टीले अन्य पार्टीले गर्न नसक्ने काम गरेर देखाउने बताउनुभएको छ । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई महान् यात्राको संज्ञा दिँदै उहाँले यात्राका बीचमा जनताका आकाङ्क्षा बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो ।

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको आज पाँचथरको याङवरक गाउँपालिका वडा नं १ चिवाभञ्ज्याङमा समापन गर्दै उहाँले जोखिम चिर्दै, प्राविधिक, भौगोलिक तथा राजनीतिक अवरोध पार गर्दै एमाले जनताको घरसम्म पुगेको बताउनुभयो ।
अभियानका क्रममा सांस्कृतिक विविधताको ग्रहण गर्ने, त्यसलाई प्रयोग र प्रवर्द्धन गर्ने काम भएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । मध्य पहाडका सबै विषयमा जानकार हुने अवसर मिलेको भन्दै उहाँले यात्रा पूर्ण रुपमा सफल भएको दाबी गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले अभियानमा सामेल भएका सबै नेता, कार्यकर्ता तथा समर्थकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सञ्चार माध्यमले एमालेको अभियानलाई सफल बनाउन विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरेर सहयोग गरेकामा समेत धन्यवाद दिनुभयो । अध्यक्ष ओलीले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमविन्दू चिवाभञ्ज्याङमा झन्डोत्तोलन गरी समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको घोषणा गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्