आमा सेमिनार : जहाँ थामिएन आँसु

नेपालगन्ज । त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएन । आँसुलाई माध्यम बनाउँदै मनको भावनाहरू पोखिरहेका थिए, उपस्थित सबैले । कतिको आँखाबाट बगिरहेको थियो, आत्माग्लानीको आँसु, कोहीको आँखामा सम्मान र ममता भरिएको आँसु, त कसैको आँखामा थिए मातापितासँगको बिछोडका आँसु । सबैको आँखाबाट बगेका आँसु एउटै भएपनि आँसुका भावहरू भने फरक फरक थिए ।
मानव सेवा आश्रमले नेपालगन्जमा आयोजना गरेको आमा सेमिनारमा प्रस्तुत भएका आमाको माया, ममता, त्याग र पीडा सम्बन्धि प्रस्तुतिले कतिपयले आफूले जानेर वा अन्जानमा आमाप्रति गरेको व्यवहारलाई सम्झिएर आत्माग्लानीको आँसु बगाइरहेका थिए भने कतिले मातापितासँगको बिछोड सम्झेर । कतिपय भने मातापिताको त्याग र समर्पण सम्झेर सम्मानले शिर झुकाएर रोइरहेका थिए । कतिजना एक अर्कोलाई अङ्कमाल गर्दै रोइरहेका थिए । आफ्नो मातृत्व र मातृभूमिप्रति सद्भाव र सम्मानले भरिएको थियो, उपस्थित सबैको आँखा मन ।

आमा सेमिनारमा बाक्लो उपस्थिति थियो । कुनै धमाकेदार र भड्किलो प्रचारबिना पनि हल पूरै भरिएको थियो । शान्त र व्यवस्थित वातावरणमा भएको बिल्कुल फरक कार्यक्रम, जहाँ मानवीय संवेदनाले भरिएका र सामाजिक रुपान्तरणको अभ्यासमा लागेका मनहरूको जमघट भएको थियो ।
उक्त कार्यक्रममा विगत १५ बर्ष देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सन्देशमूलक र उत्प्रेरणात्मक कार्यक्रमहरूमा प्रस्तुति दिइसक्नुभएका मानव सेवा आश्रमका संस्थापक तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारको प्रस्तुति गर्नुभएको थियो । आमाको महिमा, पीडा र त्यागबारे उहाँको प्रस्तुतिले उपस्थित सबैको आँखा रसाएका थिए ।
“पछिल्लो समय आधुनिक जीवनशैलीसँगै नेपालको मौलिक संस्कृति र संस्कारमा समेत विकृति हाबी हुँदै गएको छ । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तरार्द्धमा अपहेलित गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउँदै गएको छ । यस्तो विषम परिस्थितिमा मातृत्व र मातृभूमि प्रतिको दायित्वबोध गराउन मानव सेवा आश्रमले आमा सेमिनार गर्दै आएका छौँ,” बाँके जिल्ला संयोजक उर्बिन सापकोटाले भन्नुभयो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिता र मातृभूमिप्रतिको महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन–जनमा पुर्याएर संस्कारयुक्त र सभ्य समाज निर्माण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको सापकोटाले बताउनुभयो । समाजमा सकारात्मक सन्देश प्रभाव गर्दै कसैले पनि सडकपेटीमा बेवारिसे जीवन बिताउन पर्ने परिस्थिति सिर्जना नै नहोस् भन्ने आयोजकको उद्देश्य रहेको छ ।

मानव सेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप मानव सेवा आश्रम २०६९ सालदेखि नै देशव्यापीरुपमा सञ्चालित छ । मानव सेवा आश्रम नेपालगन्जमा २०७९ वैशाखदेखि सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ । मुठीदानबाट सञ्चालित आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये ३५ जना पुरुष १२ जना महिला र ३ जना बालबालिका रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्