बाँकेमा विपद्का १०३ घटना, १७ जनाको मृत्यु, साढे ४४ लाख क्षति

नेपालगञ्ज । बाँकेमा पाँच महिनाको अवधिमा १०३ वटा विपद्का घटना भएका छन् । चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म १०३ वटा घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । यी घटनाहरूमा २२ जना घाइते भएको तथ्याङ्क छ ।
करेन्ट लागेर, पानीमा डुबेर र सडक दुर्घटनामा परेर १७ जनाको मृत्यु हुँदा २२ जना घाइते भएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार पाँच महिनाको अवधिमा जिल्लाभर आगलागीका ३४, बाढी र डुबान २१, हावाहुरी ८, करेन्ट ८, पानीमा डुबान ७ र सडक दुर्घटनाका २५ वटा घटना भएका छन् । करेन्ट लागेर ६ जना, पानीमा डुबेर ४ जना र सडक दुर्घटनामा ७ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।
आगलागीका ३४ वटा घटना हुँदा ३४ वटै घरमा क्षति पुगेको छ भने हावाहुरीबाट ८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । विपदबाट ४४ लाख ५२ हजार २ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । सबैभन्दा बढी भौतिक क्षति आगलागीबाट भएको छ ।
विपदबाट प्रभावित ३३ घरपरिवारलाई ४ लाख ८६ हजार बराबरको राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्