उच्चस्तरीय समिति बनाएर एनसेल शेयर खरिद प्रकरण छानबिन गर्न अनेरास्ववियुद्वारा सभामुखलाई ज्ञापनपत्र

काठमाडौँ । एनसेल प्रकरणलाई लिएर अनेरास्ववियुले सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । एनसेलले पुँजीगत करलगायत कर छल्ने उद्देश्यले खरबौँको सम्पत्ति रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी केही अरबमा अपारदर्शी ढङ्गबाट दूरसञ्चार प्राधिकरणको समेत अनुमति नलिई बिक्री गरेकोले उच्चस्तरीय संसदीय छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन भन्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । साथै शेयर बिक्री प्रकरणको विस्तृत छानबिन गर्न समेत माग गरेको छ ।
करिब ६ वर्षमा नेपाल सरकारको स्वामित्वमा आउने हुनाले यसको सम्मुखमा विद्यमान लगानीकर्ता मध्येका नेपाली नागरिक सतिस लाल आचार्यको नाममा विदेशमा दर्ता रहेको स्पेक्ट्राेलाइट यूके लिमिटेड विदेशी लगानी मार्फत शेयर खरिद विक्री हुनुले यस प्रकरणमा नेपालको कानुनी छिद्रहरूलाई प्रयोग गरेर नेपाल सरकारलाई हस्तान्तरण नगर्ने प्रपञ्च रचिएको आरोप अनेरास्ववियुले लगाएको छ ।
“खरबौँको सम्पत्ति रहेको, नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैङ्क तथा वित्तीय संस्थाहरूको अरबौँको ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी नगराई विक्री गर्नुले पुँजीगत लाभ कर लगायत कर छली गर्ने उद्देश्य राखेको देखिन्छ । यस सम्बन्धमा शेयर विक्री प्रकरण, एनसेलको आय/व्यय माथि विस्तृत छानबिन गर्न आवश्यक छ” ज्ञापनपत्रमा भनिएको छ ।









प्रतिक्रिया राख्नुहोस्