तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यातायात, सडक तथा धार्मिकस्थल निर्माण गर्दा अपाङ्गमैत्री बनाउन मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री ज्वालाले अपाङ्गता भएका वर्गले आत्मनिर्भर र सम्मानित जीवन बाँच्न पाउने पहिलो अधिकार हुनुपर्नेमा जोड दिनुभयो  ।

उहाँले भन्नुभयो, “संविधानमा मात्र अधिकारका कुरा उल्लेख गरेर मात्रै पुग्दैन, अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि आत्मनिर्भर र सम्मानित जीवन बाँच्ने वातावरण मिलाउनु राज्यको पहिलो दायित्व हो ।” 

राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि तीनै तहका सरकार सकारात्मक हुनुपर्ने बताउनुभयो । “सङ्घ, प्रदेश र स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिको कार्यक्रमका लागि आवश्यक बजेट उपलब्ध गर्नुपर्छ” उहाँले  भन्नुभयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले राष्ट्रिय अपाङ्गता नीति छिट्टै पारित गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, “सामाजिक, आर्थिक तथा पर्यावरणीय न्यायको आयाम समेटिएको राष्ट्रिय अपाङ्गता नीति छिट्टै पारित गर्न मन्त्रालयले पहल गरिरहेको छ । अपाङ्गता भएका वर्गलाई मर्यादित जीवन निर्वाह गर्न अहिलेको प्रविधिसँग जोड्नुपर्छ ।”

समाज कल्याण परिषद्का सूचना अधिकारी सञ्जयकुमार मल्लिकले सरकारले यस वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता: अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ को मूल मर्मलाई आत्मसाथ गरेर कार्यक्रम तयार गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अपाङ्गता भएका  क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका  पार्वती पौडेल, सन्तोष पौडेल, भावुकजङ्ग थापा,  शर्मिला विश्वकर्मा, टीकाराम घिमिरे, प्रतिमा शर्मा, गोमा अधिकारी, टेकनाथ न्यौपाने, निर्मला देवकोटा र ईश्वर रैलालाई पुरस्कार दिइएको थियो । 

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button