धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्रे सुरु
गोदावरी (कैलाली)।धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्रे गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रेको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्रे गर्न थालिएको हो । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आवमा अगाडि बढेको उहाँले बताउनुभयो ।
द्रुतमार्गको २३ किमी सडक कालोपत्रेका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रेका लागि सम्झौता भएको थियो ।
कैलालीमा थप साढे छ किमी र डोटीतर्फ १५ किमी कालोपत्रेका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । चार खण्डमा कालोपत्रेको काम हुने रावलले जानकारी दिनुभयो । उहाँका अनुसार डोटीतर्फ छ किमी कालोपत्रे गरिएको छ ।
डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रेको काम अघि बढेको रावलको भनाइ थियो । उहाँका अनुसार द्रुतमार्गको ४३ दशमलव आठ किमी सडक कालोपत्रेका लागि सम्झौता भएकामा झण्डै ७० प्रतिशतमात्र काम पूरा भएको छ ।
धनगढी खण्डअन्तर्गत पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलमव चार किमी कालोपत्रे गर्नका लागि भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का भएको थियो । दिपायल खण्डमा निर्माण कम्पनी काम गरिरहेको छ ।
दुई वर्षअघि ठेक्का सम्झौता गरिए पनि बजेट अभावले सडक निर्माण अलपत्र परेकामा चालु आवमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कामले निरन्तरता पाएको आयोजना कार्यालयले जनाएको छ ।
विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किमी सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गबाट धनगढीसम्मको १० किमी पनि थपेर ९२ किमी काम भइरहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्