बाँकेमा बालिका हत्या आरोपमा भारतीय नागरिक कारागार चलान
नेपालगन्ज। बाँकेमा बालिकाको हत्या आरोपमा एक जना भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत कार्तिक १४ गते डुडुवा गाउँपालिका वडा नम्बर १ टेपरीमा भारतको बहराइच बाबागंज बस्ने ३० वर्षीय महेश चौहानले रामकुमार बाहुनको खेत ट्याक्टरले जोत्ने क्रममा खेतमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको भन्ने सूचना प्राप्त भएपछि घटनास्थलमा खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेकी बालिका सोही ठाउँ बस्ने श्यामलाल चमारकी १४ वर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमार रहेको पत्ता लगाएको थियो ।
प्रहरीले तत्पश्चात् तत्काल ट्र्याक्टर चालक चौहानलाई शङ्का लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा बालिकालाई चौहानले नै कर्तव्य गरी मारेको निर्क्योलपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा पेश गरेको थियो । बाँके जिल्ला अदालतको आदेशबाट चौहान पुर्पक्षका लागि जिल्ला कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो । उनलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा १७७ बमोजिम जन्म कैद हुन सक्ने डाँगीले बताउनुभयो । चौहान सोही ठाउँमा रहेको आफ्नो ससुरालीमा बस्दै आएका थिए ।








प्रतिक्रिया राख्नुहोस्