तपाईँ सुन्दै हुनुहुन्छः

रत्ननगर महोत्सव पुस २६ देखि, कृषिलाई प्राथमिकतामा दिइने  

चितवन । रत्ननगरस्थित टिकौली चौरमा आयोजना हुँदै आएको रत्ननगर महोत्सव–२०८० को तयारी सुरु गरिएको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घले दुई–दुई वर्षमा आयोजना गर्दै आएको सो महोत्सवको यसपटक १२औँ संस्करण हो । महोत्सव पौष २६ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको तयारीस्वरुप स्टल बुकिङ खुल्ला गरिनुका साथै आन्तरिक व्यवस्थापनको कामसमेत भइरहेको संघका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो  ।

महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष गिरी संयोजक रहेको मूल व्यवस्थापन समितिसहित विभिन्न उपसमिति बनाएर काम अगाडि बढाइएको छ ।

चितवनको समग्र आर्थिक विकास गर्ने उद्देश्य सहित  सो महोत्सव हुँदै आएको छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाई प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ । 

स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल, बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने संघका अध्यक्ष गिरीले जानकारी दिनुभयो  ।

महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तर्क्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक अन्तरक्रिया  गरिने उहाँले बताउनु भयो  ।

‘रत्ननगर महोत्सव हाम्रो पहिचान ः व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने मुख्य उद्देश्य लिएको छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन, स्थानीय कला–संस्कृति प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन पाँच सयवटा स्टल रहने छ । महोत्सवमा भारत, पाकिस्तान, बङ्गलादेश र चीनका प्रदर्शकहरूका विभिन्न प्रविधिहरूको प्रदर्शनसमेत हुने संघका अध्यक्ष गिरीले बताउनु भयो   । महोत्सव अन्तर्गत फुड फेस्टिभल समेत हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button