तपाईँ सुन्दै हुनुहुन्छः

पाख्रिनको सांस्कृतिक योगदान, निष्ठा र तपस्या स्मरणयोग्य : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक खुसीराम पाख्रिनको नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताउनुभएको छ ।

पाख्रिनको छैटौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टीको नीति र नेतृत्वप्रति पाख्रिनको लगाव र निष्ठा सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

“पाख्रिनको नेपालको प्रगतिशील साहित्यिक इतिहासमा मौलिक योगदान छ”, उहाँले भन्नुभयो, “सिद्धान्तनिष्ठ, उद्देश्यप्रति समर्पित, निरन्तर क्रान्ति र आन्दोलनमा समर्पित हुने, सरलता र सहजता उहाँको गुण हो ।” पाख्रिनले कुनै खालको दम्भ, अहङ्कार र अहमता नदेखाएको स्मरण गर्दै उहाँले सामान्य, सरल, पाख्रिनको सकारात्मक रूप रहेको बताउनुभयो । “उहाँ गाउने, गीत लेख्ने, सङ्गीत भर्ने, नृत्य सिकाउने पनि आफैँ गर्नुहुन्थ्यो, पाख्रिनमा बहुआयामिक प्रतिभा थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले पञ्चायत विरोधी आन्दोलन, जनयुद्ध र शान्ति प्रक्रियामा पाख्रिनको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै पाख्रिन प्रष्ट रूपमा एउटा प्रगतिशील र लोकप्रिय गायकका रूपमा रूपान्तरित हुँदै पार्टी र आन्दोलनसँग जोडिनुभएको बताउनुभयो ।

जनयुद्धका क्रममा भारतको प्रवासमा पार्टीलाई सङ्गठित गर्न पाख्रिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको स्मरण गर्दै उहाँले अखिल भारत नेपाली एकता समाजलाई व्यापक बनाउन र सङ्गठन विस्तार गराउनमा ठूलो योगदान रहेको बताउनुभयो ।

अखिल नेपाल जन सांस्कृतिक महासङ्घका फ्रयाक्सन इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले क्रान्ति, मुक्ति, बलिदान र स्वतन्त्रताको पक्षमा पाख्रिनले गीत रचना गर्नुभएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृति ग्रन्थको विमोचन गर्नुभएको थियो । उक्त स्मृति ग्रन्थमा प्रधानमन्त्री दाहाल, मणि थापा, गुणराज लोहनी, रेनु दाहाल, ईश्वरचन्द्र ज्ञवाली, अमिक शेरचन, कोमलनाथ बराल, प्रकाश सिलवाल, झलकपाणि तिवारी लगायतको संस्मरणात्मक लेख समावेश छ ।

विसं २००९ सालमा गोरखामा जन्मनुभएका पाख्रिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँको २०७४ सालमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button