प्रतिमाको “प्रवासी मन” काठमाडौँमा लोकार्पण

काठमाडौँ । प्रतिमा केसी ‘प्रवासी’ बेलायत बसेर मुक्तक साधना गर्ने मुक्तककार हुन् । उनी नेपाल आउँदा खाली हात आइनन् । १११२ वटा मुक्तक समेटिएको मुक्तक कृति “प्रवासी मन” लिएर आइन् । मङ्सिर ५ गते मङ्गलवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा एक भव्य समारोहकारबिच प्रवासी मनको लोकार्पण गरियो ।
प्रज्ञा भवनको लेखनाथ कक्षमा खचाखच भरिएका साहित्यकार तथा आफन्तजनहरूकाबिच आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार उषा शेरचनले कृतिको लोकार्पण गरेकी हुन् । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले प्रकाशन गरेको उक्त कृतिमा केसीले करिब एक दशकको अवधिमा सिर्जना गरेका उनका प्रकाशित तथा अप्रकाशित गरी जम्मा १११२ मुक्तकहरू अटाएका छन् ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि उषा शेरचनले यो कृति मुक्तकको एउटा महाग्रन्थ भएको र यसका सर्जक नेपाली भावना बोकेकी एउटा सशक्त डायस्पोरिक नारी हस्ताक्षर भएको कुरा बताईन । बेलायतमा बसोबास गर्ने साहित्यकार प्रतिमा प्रवासीले नेपाली मुक्तक साहित्यमा बेजोड कृति पस्केर एउटा फरक पहिचान स्थापित गरेको चर्चा गरिन ।
नेपाल मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार तथा प्रवासी मन कृतिका भूमिका समेत लेखेका डा. रूपक श्रेष्ठले मुक्तककार प्रतिमा केसी ‘प्रवासी’को व्यक्तित्व र कृतित्व बारेमा चर्चा गर्दै यसमा संग्रहित सबै मुक्तकहरू आफूले पढेको र ती सबै अत्यन्तै स्तरीय र पठनीय रहेको चर्चा गरे। हजारौँ मुक्तक प्रतिमा प्रवासीसँग सञ्चित रहेको तर अङ्ग्रेजीमा आफ्नो जन्म गते र महिनालाई (११ डिसेम्बर) बुझाउने साङ्केतिक अर्थमा १११२ वटा मुक्तक समावेश गरेको कुरा चर्चा गरे ।
साहित्यकार तथा पुस्तकका समीक्षक ज्ञानु अधिकारीले कृतिको विस्तृत रुपमा परिचर्चा गर्दै नाम प्रवासी मन राखिएको छ तर यसले घरदेशको राजनीतिक अवस्था, सामाजिक चेतना, नारीका वेदना, परदेश रहँदा घरदेशको सम्झना, गाउँघरको सम्झना, अध्यात्म चेत, सिङ्गो जीवन र जगतको विषय बोलेको एउटा संग्रहनीय कृति रहेको चर्चा गरिन।
कृतिका सर्जक प्रतिमा केसी प्रवासीले परिवारजनको हौसला, मुक्तक प्रेमीहरूको साहित्यिक संगत र मेरो आफ्नो निरन्तरको लगनले मेरो दोस्रो साहित्यिक सन्तानको जन्म सम्भव भएको कुरा बताइन । उनले आफ्नो कृतिबाट करिब आधा दर्जन मार्मिक र रसिला मुक्तकहरू वाचन गरिन । उनले आयोजक, भूमिका लेखक, शुभकामना लेखक, अग्रज साहित्यकारहरू र उपस्थित आफन्तजनलाई धन्यवाद समेत दिएकी थिइन ।
शुभकामना मन्तव्य राख्दै वरिष्ठ साहित्यकार तथा कलाकार रमेश पौडेलले यस कृतिको सम्पादन गर्ने क्रममा सम्पूर्ण मुक्तकहरू आफूले पढेको र यसले पोखरा घोषणालाई आत्मसात् गरेको बताए। जसरी एउटा सफल पुरुषको सफलतामा नारीको ठूलो भूमिका हुन्छ त्यस्तै यो कृतिले पुस्तकाकार पाउनुमा प्रतिमा प्रवासीको जीवनसाथी कुमार केसीको ठूलो भूमिका रहेको बताए। प्रतिष्ठानका पूर्वमासचिव समेत रहेका पौडेलले नेपाल मुक्तक प्रतिष्ठान अब सानो गोरेटोबाट राजमार्ग भैसकेको यसमा हजारौँ मुक्तककारहरूले यात्रा गर्ने तर मुक्तक लेखनको गुणस्तर बारे निकै सचेत हुनुपर्ने बताए । त्यसैगरी, कार्यक्रममा हातेमालो संगमका अध्यक्ष सुनिल अधिकारीले विमोचित कृतिका केही थान मुक्तकहरू वाचन गर्दै कृतिले नेपाली मुक्तकको क्षेत्रमा सुनौलो आयाम थप्ने कुरा बताए ।
कार्यक्रमको अन्तमा अध्यक्ष रामकाजी कोनेले प्रवासीको प्रवासी मनको संक्षिप्त चर्चा गर्दै कृति सफलताको मुक्तकिलो बधाई तथा शुभकामना ब्यक्त गरे । उनले नेपाल मुक्तक प्रतिष्ठान र सर्जकको निमन्त्रणामा उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
फोटोमा मुक्तकका अभियन्ता तथा हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले कृतिको विविध पक्ष बारेमा चर्चा गरेका थिए । नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईको सञ्चालन र प्रतिष्ठानका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेका थिए ।






प्रतिक्रिया राख्नुहोस्