उपाध्याय, थापा र पाण्डेलाई त्रिमूर्ति पुरस्कार
काठमाडौँ । त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषा साहित्यका श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवं प्रचार अभियानमा योगदान गर्ने प्रा मुकुन्द शरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंका अध्यक्षतामा आज बसेको बैठकले माधवप्रसाद घिमिरेकृत ‘मालती मङ्गले’ नाटकमा मङ्गलेको भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा अभिनय गर्ने हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्य साधनामा समर्पित रहँदै नेपाली कविताको संवर्द्धनमा योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउने विराटनगर निवासी जय पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।
ताम्रपत्रका साथै तीनै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्